Aamsanchar

आफन्त र दाजुभाइ नहुँदा छोरीहरूले गरे बुबाको दाहसंस्कार

Author Image
मङ्गलवार, जेठ २५, २०७८

उदयपुर — आफन्त र दाजुभाइ नहुँदा कटारी नगरपालिका–५ बरमझियाका दुई जना दिदीबहिनीले सोमबार बुबाको मृत्युपछि आफैंले शवयात्रा गरी दाहसंस्कार गरेका छन् ।  स्थानीय ६० वर्षीय बालबहादुर मगरको मृत्युपछि छिमेकीले शव छुन नमानेपछि १७ र २० वर्षीया छोरीले नै दाहसंस्कार गरेका हुन् ।

बालबहादुर बसोबास गर्दै आएको बरमझियामा आफ्नो समुदायका आफन्त र दाजुभाइ छैनन् । दाजुभाइ र आफन्त नहुँदा स्थानीयले शव छुन नहुने भन्दै पन्छिए । शव नछुने तर अन्य सहयोग गर्ने भनेपछि १७ वर्षीया कुमारी र २० वर्षीया भगवती मगरले मगर संस्कारअनुसार शवयात्रा गरी तवाखोलाको घाटमा दाहसंस्कार गरेका हुन् ।

दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्ने बालबहादुरको परिवार २०६१ सालतिर ओखलढुंगाबाट त्यहाँ झरेको हो । दुई छोरी र श्रीमतीसहित स्थानीय शिवहरि दाहालको जग्गामा सानो झुप्रो हालेर बालबहादुर बसोबास गर्दै आएका थिए । परिवारका ४ जना नै कटारी बजार र आसपासको क्षेत्रमा दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्दै आएका छन् ।

माघ, फागनुदेखि पेटको समस्याले बिरामी परेका बालबहादुर वैशाखदेखि घरमै थलिएका थिए । स्थानीयको सहयोगमा औषधोपचार गराए पनि निको नभएपछि घरमै थिए । बिरामी भएर घरमै थलिएर मृत्यु भएका बालबहादुरको मृत्युपछि कोरोना संक्रमणको कारण देखाउँदै स्थानीयले छुन नचाहेको समाजसेवी राजु मगरले बताए ।

‘कोरोना संक्रमण फैलिएको अवस्थामा मृत्यु भएकाले पनि छिमेकीले शव उठाउन अप्ठ्यारो मानेछन्,’ उनले भने, ‘मगर समुदायको भएकाले पनि अन्य समुदायका छिमेकीले छुन नहुने भन्दै पन्छिएछन् ।’ आफ्नै दाजुभाइ र अहिले आफ्नो आफन्त नभएकाले बुबाको दाहसंस्कार र काजकिरिया आफैंले गर्ने निर्णय गरेको कुमारी र भगवतीले बताए । ‘बुबाको हामी आफैंले शवयात्रा गरेर दाहसंस्कार गर्‍यौं’ उनीहरूले भने, ‘अब मगर संस्कार संस्कृतिअनुसार काजकिरिया पनि गर्छौंर्र् ।’ स्थानीय छिमेकी र आफ्ना समुदायको सहयोग रहेको उनीहरूले बताए ।

मगर संस्कारअनुसार ७ दिनमा बालबहादुरको काजकिरिया सकिने राजुले बताए । अहिले कुमारी, भगवती र उनीहरूकी आमा किरियामा बसेको उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 202

प्रतिक्रिया (०)

सम्बन्धित खबर