Aamsanchar

भारतीय राष्ट्रपतिको भ्रमण तयारी तीव्र

Author Image
शनिवार, कार्तिक १३, २०७३

पोखरा। 

download

भारतीय राष्ट्रपति प्रणव मुखर्जीबाट यही कात्तिक १७ देखि १९ गतेसम्म हुने नेपालको राजकीय भ्रमणको सिलसिलामा कात्तिक १९ गते पोखरा आउने भएपछि यहाँ त्यसको तयारी तीव्र पारिएको छ ।
राष्ट्रपति मुखर्जीको पोखरा भ्रमणलाई भव्य रूपमा सफल बनाउन पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक खगराज बरालको संयोजकत्वमा गठित मूल व्यवस्थापन सहयोग समिति र त्यसअन्तर्गत गठित स्वागतद्वार निर्माण तथा सरसफाइ, स्वागत व्यवस्थापन, निर्माण र पूर्वाधार तथा प्रचारप्रसार समितिले यतिखेर आफ्नो तयारीलाई तीव्रता दिएका छन् ।
पश्चिमाञ्चल क्षेत्रीय सहप्रशासक दिवाकर बाँस्तोलाका अनुसार उपसमितिले आफ्नो जिम्मामा भएका सम्पूर्ण कार्य कात्तिक १८ गते अगावै सम्पन्न गर्ने गरी काम थालेका छन् ।
प्राप्त कार्यक्रमअनुसार राष्ट्रपति मुखर्जी कात्तिक १९ गते १२ः४५ बजे पोखरा विमानस्थलमा आइपुग्ने कार्यक्रम छ । विमानस्थलबाट सिधै पोखरा ग्रान्ड होटलमा जाने र केही समय आराम गरेपछि अपराह्न ३.०० बजे पोखराको रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा जम्मा भएका भारतीय भूतपूर्व सैनिकको भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
भूतपूर्व सैनिकको भेलालाई सम्बोधनपछि राष्ट्रपति मुखर्जी पोखरा विमानस्थलबाट काठमाडाँैं फर्कने कार्यक्रम छ ।उहाँको भ्रमणको सिलसिलामा पोखराको सुरक्षा व्यवस्था मिलाइएको छ । यसको जिम्मा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले लिएका छन्् ।
राष्ट्रपतिको भव्य स्वागतका लागि होटल ग्रान्डदेखि रामबजारस्थित भारतीय पेन्सन क्याम्पसम्म स्वागतद्वार बनाइनेछ भने उहाँ सवार गर्ने बाटोमा नेपाल र भारतका झन्डा फहराइनेछ ।
त्यस्तै नेपाली मौलिकपनमा आधारित सांस्कृतिक झाँकी, बाजागाजा एवम् अभिवादनबाट श्रद्धा एवम् हार्दिकतासाथ राष्ट्रपतिको स्वागत गरिनेछ । पोखरा भ्रमणका क्रममा राष्ट्रपति मुखर्जीले भारतीय पेन्सन क्याम्पबाट अमरसिंह, पृथ्वीचोक, हल्लनचोक, लेकसाइडलगायत स्थानको दृश्यावलोकन गर्नुहुने क्षेत्रीय सह–प्रशासक बाँस्तोलाले जानकारी दिनुभयो ।
विश्वमै पर्यटकीय ख्याति कमाएको पोखरामा अघिल्लो वर्ष सम्पन्न सार्क मन्त्रिपरिषद्को बैठक (मिनी सार्क सम्मेलन), त्यसलगत्तै भएको बेलायती राजकुमार ह्यारीको भ्रमणसँगै दीपावलीलगत्तै हुन लागेको भारतीय राष्ट्रपतिको भ्रमणले यहाँको गरिमा र महत्वलाई अझै उचाइमा पु¥याउने विश्वास पोखरेली जनताले लिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर