Aamsanchar

दिदीबहिनीले लगाएको तेलको घेरो र मखमली माला नसुकुञ्जेल दाजुभाइलाई केही नहुने

Author Image
मङ्गलवार, कार्तिक १६, २०७३

काठमाडौँ ।

यमपञ्चक अर्थात् तिहारको पाँचौं एवम् अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आ आफ्नो परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको छ ।

सामान्य मानिसलाई भाइटीका लगाउँदा साइतको आवश्यक्ता नपर्ने भएपनि साइत नै खोजेर टीका लगाउनेका लागि मध्यान्ह ११ बजेर ५२ मिनेटको साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको थियो । साइत खोज्नेका लागि ११ बजेर ५२ मिनेटको साइत दिइए पनि आज दिनभर भाइटीका लगाइएको छ ।

दिदीबहिनीले लक्ष्मी पूजा गरेको दियो, कलश र गणेशसहित मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराजको समेत पूजाआजा गरी तेलको धाराले दाजुभाइलाई घेरेर ढोकामा ओखर राखी टीका लगाएर ओखर फुटाउने धार्मिक विधि छ । यसो गर्नाले दाजुभाइ यश र ऐश्वर्यका साथ लामो समयसम्म सुखीपूर्वक जीवनयापन गर्नसक्ने शास्त्रीय मान्यता छ ।

दिदीबहिनीले लगाएको तेलको घेरो र मखमली माला नसुकुञ्जेल दाजुभाइलाई आजको भाइटीकाको प्रसादको कामनाले केही नहुने धार्मिक विश्वास छ । कार्तिक कृष्ण त्रयोदशीका दिन शुरु भएको यमपञ्चक पनि आज कार्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाएपछि तिहार पर्व समाप्त हुन्छ ।

दिदीबहिनी एवम् दाजुभाइ नहुनेले भने आज रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर अघि राखिएको तस्बिरमा गई पूजा गरी दर्शन गरेर प्रसाद लगाई यो पर्व मनाएका छन् । यो मन्दिर प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया भाइटीका अर्थात् आजैका दिन मात्र सर्वसाधारणका लागि खुल्ने गर्दछ ।

यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी नहुने दाजुभाइले पूजा एवम् दर्शन गरी टीका लगाएको संस्कृतिविद् एवम् पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डनले राससलाई बताउनुभयो ।

“विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भीड लाग्थ्यो, अहिले पनि यहाँ भाइटीका का दिन भक्तजनको भीड लाग्छ”–उहाँले भन्नुभयो ।

विसं २०३५ पछि नियमित रुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । गत वर्षको भूकम्पले बालगोपालेश्वर मन्दिर क्षतिग्रस्त बनेपछि खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी एवम् दाजुभाइ नहुने भक्तजनको भीड लाग्न थालेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)