बिर्तामोड। कोरोनाविरुद्धको खोप काण्डमा संलग्नलाई कारबाही गर्न बिर्तामोड उद्योग वाणिज्य संघले माग गरेको छ ।
वाणिज्य संघले खोप काण्डको सत्यतथ्य उजागर गर्न तथा दोषीलाई कारबाही गर्न सशक्त खबरदारीमा उत्रिने चेतावनी दिएको छ । संघले घटनामा संलग्न सबैलाई कारबाही गर्न स्थानीय, प्रदेश र केन्द्रसहित तीनै तहका सरकार समक्ष माग गरेको हो ।
संघले शनिबार पत्रकार सम्मेलन गरी बिर्तामोडको खोप काण्ड जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख समेतको संलग्नमा भएको दाबी गरेको छ ।
संघले विभिन्न बहानामा होटलमा खोप लुकाईछिपाई राख्नु गम्भीर घटना भएको पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख छ । ‘खोपका लागि हामीले सरोकारवाला निकायमा पटकपटक अनुरोध गर्यौं । खोप छैन भन्दै हामी व्यवसायीलाई खोप दिइएन । तर २ सयभन्दा बढी डोज खोप होटलमा लुकाईछिपाई राख्नु निन्दनीय र अपराधजन्य घटना हो’ संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले भने,‘खोप होटलमा लुकाएर राख्ने काम गलत हो । यसमा संलग्नलाई कारबाही हुनैपर्छ ।’
संघले खोप काण्डको सत्यतथ्य सार्वजनिक नभएसम्म उद्योगी व्यवसायी, राजनीतिक दल, अधिकारकर्मी, सञ्चारकर्मी, आम नागरिक सबैलाई निरन्तर खबरदारी गर्न अपिल समेत गरेको छ ।
घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी तिलक रिमालको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति बनिसकेकाले समितिले निर्धारित समयभित्रै सत्यतथ्य सार्वजनिक गर्नेमा आफूहरु विश्वस्त रहेको संघका अध्यक्ष प्रकाश सिवाकोटीले बताए ।