विराटनगर:
एडिज जातको लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको संक्रमण फेला परेको छ । मोरङको उर्लाबारी नगरपालिकामा डेंगु संक्रमित फेला परेको हो । तीन दिनयता चारजनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
दुईजनामा शनिबार मात्र संक्रमण पुष्टि भएको हो । उच्च ज्वरो आउने, आँखा र शरीरका विभिन्न भाग दुख्ने, बान्ता हुने, पेटमा समस्या हुने लगायतका लक्षण देखा पर्न थालेपछि उपचारका लागि उर्लाबारी ४ स्थित गोदावरी अस्पतालमा ल्याइएका चारजनामा डेंगु पत्ता लागेको अस्पतालले जनाएको छ ।
उर्लाबारी ४ की १६ वर्षीया लक्ष्मी साह र ६१ वर्षीया रामकुमारी राईलाई डेंगुको संक्रमण भेटिएको हो । राईलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । साहको सोही अस्पतालमा उपचार सुरु गरिएको छ । गत बिहीबार यही अस्पतालमा उपचारका लागि ल्याइएका उर्लाबारी २ की २७ वर्षीया सरिता थापा र शोभित भण्डारीमा पनि डेंगु लागेको पुष्टि भएको थियो । लक्ष्मीलाई केही दिनअघि झापाको दमक बजार गएका बेला डेंगु लागेको हुनसक्ने उनका बुवा अखिलेश साहले बताए ।
सीमा जोडिएको छिमेकी नगर झापाको दमकमा डेंगुको संक्रमण बढेसँगै उर्लाबारीमा पनि डेंगुका बिरामी भेटिन थालेको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख चन्द्रदेव मेहेताले बताए । मेहेताले यो रोगको संक्रमणबाट बच्न र बचाउनका लागि कार्यालयले उच्च सतर्कता अपनाएको बुझिएको छ ।