तालिबानको बढ्दो हिंसाको कारण देश छाड्न बाध्य भएका अफगानिस्तानका नागरिकहरूलाई मद्दत गर्ने क्यानडाले घोषणा गरेको छ। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ट्विट गर्दै अफगानिस्तानमा स्थिति खराब हुँदै गरेको र त्यहाँका जनताको जीवन खतरामा रहेको बताएका छन्।
उनले ट्विटरमा लेखेका छन्‚ ‘उनीहरूको मद्दतका लागि हामी रिसेटल्मेन्ट प्रोग्राम विस्तार गरिरहेका छौँ। हामी प्रभावित बनेका २० हजार जना अफगानिस्तानका जनतालाई शरण दिन्छौँ र यो प्रक्रियालाई चाँडो बनाउँछौँ।’ २० वर्षपछि अमेरिकी नेतृत्वको विदेशी सैनिकले अफगानिस्तान छाडेपछि तालिबानले त्यहाँ हिंसा मच्चाइरहेको छ। उसले देशका विभिन्न भू-भागमा कब्जा गर्दै सर्वसाधारणको हत्या गरिरहेको छ भने महिला तथा बालबालिकालाई चरम यातना दिइरहेको बताइएको छ।
देशभरि लडाइँ फैलिँदै जाँदा एक करोड ८४ लाख मानिसलाई मानवीय आवश्यकता पर्न सक्ने मूल्यांकन गरिएको राष्ट्रसंघले जनाएको छ।