काठमाडौं,
निलम्बित अख्तियार प्रमुख लोकमान सिंह कार्कीले संसदमा दर्ता भएको महाअभियोग प्रस्तावविरुद्ध अदालत जाने तयारी तीव्र पार्नुभएको छ । कात्तिक ३ गते माओवादी र एमालेका सांसदले महाअभियोग प्रस्ताव दर्ता गर्ने बित्तिकै आफूलाई निलम्बन गर्नु गैरकानुनी भएको जिकिरसहित कार्कीले सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी गर्नुभएको हो ।
कार्कीनिकट एक वरिष्ठ अधिवक्ताले उज्यालोसँग भने, ‘महाअभियोग प्रस्ताव दर्ता हुने बित्तिकै उहाँलाई निलम्बन गर्नु गैरकानुनी भएको जिकिरसहित हामी रिट दायर गर्दैै छौं । आज तयारी पुगेन भोलि(मंगलबार) रिट दर्ता हुन्छ ।’
विचाराधीन रहेको आफ्नो योग्यता सम्बन्धि मुद्दा र महाअभियोग प्रस्तावका विरुद्ध अदालतमा प्रतिवाद गर्न कार्कीले केही दिनदेखि कानुन व्यवसायीहरुसँग छलफल गरिरहनुभएको छ । सर्वोच्चले कार्कीलाई योग्यतासम्बन्धि मुद्दामा आफ्नो जवाफ पेश गर्न १५ दिनको समय दिए पनि उहाँले अहिलेसम्म अदालत जानुभएको छैन ।
म्याद थाम्न पाउने १५ दिनमध्ये बाँकी आठ दिनभित्र कार्कीले अदालतलाई जवाफ दिने उहाँका कानुन व्यवसायीले उज्यालोलाई जानकारी दिए ।