काठमाडौँ ।
सरकारले मिर्गौलाका लागि सम्पूर्ण डायलाइसिस(रक्तशुद्धीकरण) निःशुल्क गर्ने निर्णयको कार्यान्वयन गर्न सम्बन्धित अस्पताललाई निर्देशन दिएको छ ।
यसअघि हप्तामा दुई पटक मात्रै निःशुल्क डायलाइसिसको व्यवस्था गरिएकामा अबदेखि जति पटक डायलाइसिस गर्नुपरे पनि निःशुल्क हुने भएको छ । स्वास्थ्य मन्त्रालय, चिकित्सा सेवा महाशाखाले आवश्यकतानुसारको डायलाइसिस निःशुल्क गर्न सम्बन्धित अस्पताललाई परिपत्र गरेको छ ।
प्रधानमन्त्रीको घोषणा, सरकारको चालु आवको नीति तथा कार्यक्रम र मन्त्रालयबाट सम्पूर्ण डायलाइसिस निःशुल्क गर्ने निर्णय गरिएको थियो । मन्त्रालयले दिएको निर्देशनमा ‘निःशुल्क उपचार गराउने व्यवस्था अनिवार्य कार्यान्वयन गर्न निर्णयानुसार अनुरोध छ’ भनिएको छ ।
नेपालमा अहिले मानव अङ्ग प्रत्यारोपण केन्द्रसहित ३२ अस्पतालमा निःशुल्क डायलाइसिसको व्यवस्था रहेको छ । तीमध्ये चार अञ्चल अस्पताल छन् भने बाँकी अञ्चल अस्पतालमा मन्त्रालयले निःशुल्क डायलाइसिस सेवा सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाइएको छ । प्रत्येक अञ्चल अस्पताललाई दुई डायलाइसिस यन्त्र किनेर सेवा सुरु गर्न मन्त्रालयले आवश्यक रकम पनि पठाइसकेको छ । छ महिनाभित्र सबै अञ्चल अस्पतालमा सेवा गर्ने तयारी मन्त्रालयको छ ।
बिरामीले मिर्गौला प्रत्यारोपण नगर्दासम्म हप्तामा तीन पटकसम्म डायलाइसिस गर्नुपर्ने केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले जानकारी दिनुभयो । डायलाइसिस गर्दा हरेक पटक रु दुई हजार पाँच सय लाग्ने गरेको छ ।