Aamsanchar

पति–पत्नीबीचको झगडा मिलाउन खोज्दा मोरङमा छिमेकीको हत्या

Author Image
आइतवार, भदौ ६, २०७८

विराटनगर – मोरङको मिक्लाजुङ गाउँपालिकामा पति–पत्नीबीचको झगडा मिलाउन खोज्दा छिमेकीको हत्या भएको छ। पति–पत्नीबीचको झगडा मिलाउने क्रममा मिक्लाजुङ–७ भण्डारी टोलमा ४३ वर्षीय धनराज लिम्बूको हत्या भएको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार मिक्लाजुङ–६ का ३३ वर्षीय रविन तामाङ र उनकी पत्नी निरुताबीच भदौ ३ गते राति ८:४० बजेतिर विवाद एवं झगडा भएको थियो। रविन आफ्नी पत्नी निरुतासहित मिक्लाजुङ–७ भण्डारी टोलमा डेरा बस्दै आएको खुलेको छ।

उनीहरुबीच लामो समयदेखि पारिवारिक झैझगडा भइरहेको खुलेको डीएसपी श्रेष्ठले बताए। उनका अनुसार पत्नीसँग झगडा परेपछि रविनले भाइहरु ३० वर्षीय आइतराज र २६ वर्षीय संजय तामाङलाई पनि बोलाएको पाइएको छ। उनीहरुबीच पारिवारिक झैझगडाका विषयमा छलफल भइरहेका बेला रविनका जेठान मिक्लाजुङ–६ का ४० वर्षीय भाग्य बम्जन (तामाङ)ले मिक्लाजुङ–७ का धनराज र ५५ वर्षीय दुर्गाबहादुर कार्कीलाई लिएर पुगेको खुलेको डीएसपी श्रेष्ठले बताए।

उनका अनुसार धनराज र दुर्गाबहादुर भाग्यले संचालन गरेको फ्रेस हाउसमा त्यतिबेला मासु किन्न पुगेका रहेछन्। बहिनी–ज्वाईंको झगडा भइरहेको सुनेपछि मासु किन्न आएका छिमेकीलाई समेत लिएर भाग्य घटनास्थलमा पुगेको पाइएको श्रेष्ठको भनाइ छ। उनका अनुसार झगडा नगर्न एवं मिलेर बस्न पति–पत्नीलाई सुझाव दिएका धनराज र दुर्गाबहादुरलाई पारिवारिक कुरामा बाहिरका व्यक्तिहरु प्रवेश गरेको भन्दै रविन, आइतराज र संजयले दाउराले कुटपिट गरेको खुलेको छ।

कुटपिटबाट गम्भीर घाइते भएका धनराजलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होम ल्याइएको थियो। उनको उपचारका क्रममा शनिबार राति ११:४५ बजेतिर मृत्यु भएको डीएसपी श्रेष्ठको भनाइ छ। आक्रमणमा परेर सामान्य घाइते भएका दुर्गाबहादुर उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ। घटनामा संलग्न रविन, आइतराज र संजयलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरिसकेको छ। उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ। रविनका जेठान भाग्यलाई पनि नियन्त्रणमा लिएर घटनाका बारेमा सोधपुछ गर्ने काम भइरहेको प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर