Aamsanchar

बिर्तामोड खोप प्रकरणः छानविन समितिले प्रतिवेदन बुझायो

Author Image
सोमवार, भदौ ७, २०७८

बिर्तामोड । २४ दिनअघि बिर्तामोडको टाइमलेस मुमेन्ट होटलमा कोभिडविरुद्धको खोप लुकाएर राखेको अवस्थामा भेटिएपछि छानबिन गर्न गठित समितिले प्रतिवेदन सार्वजनिक गरेको छ ।

बिर्तामोड नगरपालिकाका कोभिड फोकल पर्सन ओमबहादुर खड्काले खोप लुकाएर राखेको आशंका भएपछि कफी पिउन होटल पुगेका स्थानीय व्यवसायी र युवाले प्रहरी र पत्रकारलाई खबर गरेका थिए ।

झापाका सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको संयोजकत्वमा गठित समितिले आज प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा भनिएको छ, ‘स्वास्थ्य कार्यालय झापाबाट बिर्तामोड नगरपालिकालाई पठाएको १०३ भाइल खोप बुझ्ने स्थल र प्रक्रियामा गम्भीर त्रुटि देखिएकाले खोप बुझाउने र बुझ्ने दुवै पक्षका सम्बन्धित कर्मचारीलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पत्रचार गर्न छानबिन समितिको राय रहेको छ ।’

प्रतिवेदन बुझ्दै तिमिल्सिनाले समितिलाई धन्यवाद दिँदै डिसिएमसीको बैठकमा प्रतिवेदन पेस गर्ने र डिसिएमसीको निर्णय बमोजिम कारबाहीका लागि माथिल्लो निकायमा पठाउने जानकारी दिए ।

प्रतिवेदनअनुसार साउन १५ गते बिर्तामोड नगरपालिकाको चनं ३९४ को ‘थप भेरोसेल उपलब्ध गराइदिनेबारे’ को पत्र प्राप्त भएपछि जिल्ला स्वास्थ्य कार्यालयले बिर्तामोड खोप पठाएको स्वास्थ्य कार्यालयका प्रमुख योगराज घिमिरेले दाबी गरे पनि त्यस्तो नभएको पुष्टि भएको छ ।

बिर्तामोड नगरपालिकाको आर्थिक वर्ष २०७८/२०७९ को चलानी किताब हेर्दा ३९४ नम्बरको पत्र साउन १७ गते अर्थात होटलमा खोप भेटिएको दुई दिनपछि मात्र दर्ता भएको पाइएको थियो । जबकि उक्त पत्रअगावै बिर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई जिम्मेवारीबाट हटाइएको थियो ।

उक्त पत्र हालसम्म पनि स्वास्थ्य कार्यालयमा दर्ता नभएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, साउन १६ गते बिर्तामोडमा चालक र सहचालकलाई खोप लगाउने लिखित निर्णय नै नभई एक हजार भाइल खोप माग गरेको प्रतिवेदनमा जनाइएको छ ।

होटलमा खोप फेला परेको दिन ओम खड्का र प्रत्यक्षदर्शीको भनाई ।

Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर