Aamsanchar

निषेधाज्ञाको समयमा ओखलढुंगामा ३९ प्रतिशतले आत्महत्याका घटना बढ्यो

Author Image
मङ्गलवार, भदौ ८, २०७८

ओखलढुंगा – निषेधाज्ञाको समयमा आत्महत्याका घटना मात्रै ३९ प्रतिशतले बढेको छ। निषेधाज्ञाको समयमा पनि अपराधका घटना भने घटेका छैनन् । जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका घटनाको तथ्यांकले निषेधाज्ञामा सबैभन्दा बढी आत्महत्या भएको देखिएको छ ।

बैशाख १५ देखि साउन मशान्तसम्मको अभिलेखअनुसार विभिन्न १५ प्रकारका ५१ अपराधका घटना प्रहरीमा अभिलेख छन् । तीमध्ये ३९।२१ प्रतिशत अर्थात् २० घटना आत्महत्याका मात्रै रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका डिएस्पी गोविन्दराज काफ्लेले बताए । ‘जिल्लामा आत्महत्या अत्याधिक छ, एक हप्तामा लगातार ४ दिनसम्म दैनिक एकजनाले आत्महत्या गरेको पाइयो’ काफ्लेले भने । यसरी आत्महत्या बढ्नुको कारण काम नहुँदा फुर्सदिलो हुने, बेरोजगारीले आर्थिक समस्या पर्ने, पारिवारिक कलह, युवायुवतिमा माया प्रेम र यौन सम्बन्ध लगायतका कारणले आत्महत्या बढिरहेको प्रहरीको निष्कर्ष छ ।

आत्महत्याबारे जिल्ला प्रशासन कार्यालयले विस्तृत अध्ययन गरेर प्रतिवेदन समेत तयार गरेको छ । उक्त प्रतिवेदनमा पनि आर्थिक तथा सामाजिक समस्या, एक्लोपना, पारिवारीक कलह, युवायुवतिको मायाप्रेममा धोका र यौनसम्बन्ध लगायतका कारण नै औंल्याइएका छन् ।

यसरी प्रतिवेदन नै आए पनि त्यसबारे स्थानीय तहले चासो नदिएको जिल्ला पैरवी सञ्जालका बोधनारायण श्रेष्ठले बताए । उनले भने ‘स्थानीय सरकार नागरिकको मानसिक स्वास्थ्यका समस्यामा गम्भीर देखिएन, स्वास्थ्योपचार र मनोपरामर्शका लागि कुनै कार्यक्रम नै ल्याएनन् ।

जिल्लामा दैनिक बढीरहेको आत्महत्या रोकथाम गर्न मनोमरामर्श दिने र वडा तहमै मनोपरामर्शदाता राख्न सरोकारवालाहरुले माग गरेका छन् । यी विषयमा स्थानीय सकारका प्रमुखले प्रतिबद्धता जनाए पनि नीति तथा कार्यक्रममा समेटेका छैनन् ।

विभिन्न पारिवारिक समस्याका कारणले हुने मानसिक तनावका कारण पनि आत्महत्या बढी भएको भन्ने निचोड निकालिए पनि त्यस विषयमा स्थानीय सरकारले नीति तथा कार्यक्रममै समेटेर नागरिकको स्वास्थ्य र जीवन रक्षाका लागि काम गर्नु पर्ने गैरसरकारी संस्था महासंघका जिल्ला सचिव लिला बहादुर सुनुवार बताए । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले २०७८ बैशाख २६ देखि निषेधाज्ञा लगाएको हो । त्यँहा सक्रिय कोरोना संक्रमितको संख्या २ सय बढी भएकाले अहिले पनि जारी छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर