काठमाण्डौ- अफगानिस्तानको राजधानी काबुल विमानस्थल बाहिर भएको बम विस्फोटमा ६० जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा अमेरिकी नागरिकसमेत रहेका छन्। १३ जना अमेरिकासँग सम्बन्धी सेवाका सदस्यको विस्फोटमा परेर ज्यान गएको अमेरिकाले पुष्टि गरेको बीबीसीले जनाएको छ ।
विस्फोटमा परेर कयौँ अमेरिकी नागरिक घाइते भएका छन् । बेलायतले भने अहिलेसम्म आफ्ना नागरिक र सेना सुरक्षित रहेको जनाएको छ । काबुल विमानस्थलमा हजारौँ उद्धारका लागि पर्खिरहेका बेलामा बम विस्फोट भएको हो।
जिहादी समूहले आफूले विस्फोट गराएको दाबी गरेको छ । यसअघि काबुल विमानस्थलमा सुरक्षाको जोखिम बढेको भन्दै अमेरिका र बेलायतले सुरक्षा चेतावनी जारी गरेका थिए । उनीहरुले आक्रमणको जोखिम रहेकाले विमानस्थलबाट परै बस्न आह्वान गरेका थिए । तर, चेतावनीको बेवास्ता गर्दा ठूलो मानवीय क्षति हुन पुगेको छ ।
यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले विस्फोट पछि पनि उद्धार कार्य जारी नै रहने बताउनु भएको छ । उहाँले आफ्नो मिसन पूरा गर्नै पर्ने र त्यो जसरी पनि गर्ने बताउनु भएको हो । राष्ट्रपति बाइडेनले विस्फोटमा संलग्नहरुलाई कारबाही समेत हुने दाबी गर्नु भएको छ ।
अफगानिस्तानलाई तालिबानले नियन्त्रणमा लिए पछि त्यहाँबाट एक लाख मानिसको उद्धार भइसकेको छ । अगस्ट ३१ तारिखसम्म तालिबानले उद्धारका लागि अनुमति दिएको छ ।