Aamsanchar

संखुवासभा : एकै परिवारका ६जनाको बीभत्स हत्याको प्रहरी विशेष टोलीद्वारा अनुसन्धान सुरु

Author Image
मङ्गलवार, भदौ २२, २०७८

संखुवासभा –संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँको उम्लिङमा एकै परिवारका ६ जनाको बीभत्स हत्या गरिएको दर्दनाक घटनाको प्रहरीको विशेष टोलीले अनुसन्धान सुरु गरेको छ। संघीय प्रहरी इकाई कार्यालय धरानबाट एसपी भीम दाहाल नेतृत्वको विशेष टोलीले घटनास्थल पुगेर अनुसन्धान थालेको हो।

अति नै विकट एवं दुर्गम घटनास्थलमा सोमबार साँझ ७ बजेतिर पुगेर दाहाल नेतृत्वको टोलीले घटनास्थललाई आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। प्रहरीले अनुसन्धानका लागि ‘ट्र्याकर’डग पिकु र लैलालाई प्रयोग गरेको छ। तर निरन्तरको वर्षाका कारण तालिमप्राप्त कुकुरबाट गरिने अनुसन्धान प्रभावकारी हुनसक्ने अवस्था नरहेको बताइएको छ। यद्यपि घटनास्थल पुगेको प्रहरीको विशेष टोलीले भने घटनाको नजिक पुगिकिएको उल्लेख गरेको छ।

घटनाको अनुसन्धानमा संखुवासभा प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदी र इलाका प्रहरी कार्यालय चैनपुरका इन्सपेक्टर योगराज खतिवडा पनि खटिएका छन्। धरानबाट प्रहरीको विशेष टोली पुग्नुअघि संखुवासभा प्रहरीले शव नचलाइकन घटनास्थलको सुरक्षा मात्रै दिएको थियो।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरले अनुसन्धानलाई थप मद्दत मिल्ने गरी रिजनल इन्भेस्टिकेसन टिम (रिट) अर्थात क्षेत्रीय अनुसन्धान समूहलाई पनि परिचालन गरिसकेको छ। प्रदेश १ प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसीले अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन र हत्यारा पत्ता लगाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली पनि घटनास्थलतर्फ जाने तयारी गरिरहेको जानकारी दिए। घटना हत्या नै भएको निस्कर्षमा प्रहरी पुगेको उनले बताए।

‘एउटै परिवारका दुई बालबालिका र एक जना वृद्धासहित निहत्था ६ जनाको बीभत्स हत्या भएको छ,’ बीसीले भने, ‘प्रहरीको विशेष टोली अनुसन्धानमा खटिएका कारण चाँडै नै घटनाको निस्कर्षमा पुग्ने छौँ।’ प्राविधिकदेखि लिएर विभिन्न पक्षबाट सुरु गरिएको अनुसन्धान सकारात्मक पाटोतर्फ अघि बढिरहेको उनको भनाइ छ। निरन्तरको वर्षाले घटनाको अनुसन्धानलाई भने प्रभावित पार्नसक्ने बताइएको छ।

यसैबीच हत्या गरिएका ६ जनाकै शव अहिलेसम्म अर्थात मंगलबार बिहानसम्म घटनास्थलमै छ। प्राय शवहरु घोप्टो परेको अवस्थामा भेटिएका छन्। अनुसन्धान सुरु गरेको प्रहरीले आवश्यक प्रक्रिया पूरा गर्दै शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउने भएको छ। मंगलबार दिउँसो १२ बजेसम्म घटनास्थलबाट शव उठाएर पोस्टमार्टमका लागि अस्पताल पुर्‍याउने गरी प्रक्रिया अघि बढाइएको बीसीले बताए। उनका अनुसार विकट स्थानमा घटनास्थल रहेको र बर्खाको समयमा पहिरोले बाटो पनि ठाउँ–ठाउँमा बिगारेका कारण शव साँझसम्म पनि धरान ल्याइ पुर्‍याउन सक्ने अवस्था छैन।

८५ वर्षीय बौदमान कार्कीको परिवारमा उक्त नरसंहार भएको हो। वृद्धअवस्थाका उनी भने कान कम सुन्छन्। आँखा पनि मधुरो देख्छन्। घरमा रहेका ७ जनामध्ये उनी मात्रै सकुशल छन्। अरु ६ जनाको भने क्रुरतापूर्वक तरिकाले हत्या गरिएको अवस्थामा यत्रतत्र शवहरु भेटिएका छन्। प्रहरीका अनुसार बौदमानकी पत्नी ८४ वर्षीया पार्वता, छोरा ५८ वर्षीय तेजबहादुर, बुहारी ५२ वर्षीया कमला तथा तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको हो। एउटै परिवारका ६ जनाको हत्या भएपछि पूरै गाउँ शोकमा डुबेको वडाध्यक्ष खेमनाथ कटुवालले बताए।

‘सिंगो गाउँमा सन्नाटा छाएको छ। कसैले पनि यस्तो दर्दनाक घटना कसरी भयो होला भनेर सोच्नसम्म सकिरहेका छैनौँ,’ उनले भने, ‘घटना देखेका र सुनेका छिमेकीहरु कसैको घरमा चुल्हो बलेको छैन। आफ्नो गरेर खाइरहेको सिंगो परिवार नै सखाप बनाइएको छ।’ घटनाको अनुसन्धानमा स्थानीय बासिन्दा र जनप्रतिनिधिले पनि प्रहरीलाई सहयोग गरिरहेको जानकारी वडाध्यक्ष कटुवालले दिएका छन्।

उनका अनुसार हत्या बिहान कि राति नै गरिएको हो भन्ने यकिन हुन बाँकी छ। वृद्धअवस्थाका बौदमानले पनि घटनाका बारेमा आफूले थाहा नपाएको बताएका छन्। बेलुकासँगै खाना खाएर सुतेको र बिहान हेर्दा श्रीमती ९पार्वता०लाई मृत फेला पारेपछि छिमेकीलाई खबर गरेको उनले बताएका छन्।

हत्या गरिएकामध्ये पार्वताको शव घरभित्रै थियो। काम गर्न जाँदा लगाउने कपडा र गम्बुटसमेत लगाएको अवस्थामा तेजबहादुरको शव घरनजिक बाटोमा भेटियो। कमला र रञ्जनाको शव घरनजिकको खोलामा भेटिएको थियो। दीपेन र गोमाको शव घरमाथिको खरबारीमा भेटिएको प्रहरीले जनाएको छ। मृतक सबैको शव घरबाट लगभग सयमिटरको आसपासमा भेटिएको थियो। स्थानीय र प्रहरीले सबै जनाको हत्या भाग्दाभाग्दै भएको हुनसक्ने अनुमान गरेका छन्। अर्थात लखेटीलखेटी मारिएको पनि हुनसक्ने प्रहरीले बताएको छ।

प्रहरीले आर्थिक पाटोका कारण घटना भएको हुनसक्ने अनुमान गरेको छ। तेजबहादुरका दुई छोराहरू जेठो रमेश र कान्छो नरेश वैदेशिक रोजगारीका लागि मलेसियामा छन्। रमेशकी श्रीमती रञ्जनाको हत्या भएको छ। नरेशकी श्रीमती मुना भने झापामा बस्छिन्। कार्की परिवारले झापामा जग्गा किन्नलाई बैना गरिसकेको पाइएको छ। जग्गा किन्नलाई घरमा पैसा राखेको हुनसक्ने भएकाले सबैको हत्या गरेर लुटपाट गरिएको हुनसक्ने प्रहरीको आशंका छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर