Aamsanchar

मोरङबाट ११ जना फरार प्रतिवादी पक्राउ

Author Image
शनिवार, असोज २, २०७८

विराटगनगर – विभिन्न अपराधमा अदालतले दोषी ठहर गरेपनि कैद सजाय र जरिवाना भुक्तान नगरिकन फरार रहेका ११ जना प्रतिवादी मोरङबाट पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले एकै पटक ११ जनालाई पक्राउ गरेर शुक्रबार जिल्ला अदालत मोरङमा पेस गरेको छ । पक्राउ पर्नेमध्ये १० जना कुटपिट एवं लुटपाट र एक जना सवारी ज्यान मुद्दाका फरार प्रतिवादी रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए ।

पक्राउ पर्नेमा मोरङको सुनवर्षी नगरपालिका–६ का ५३ वर्षीय रमेश भुजेल, २३ वर्षीय सुरज भुजेल, ५८ वर्षीय उसमान मियाँ, २८ वर्षीय रमजान मियाँ, ४८ वर्षीय अञ्जु खातुन रहेका छन् । त्यस्तै ४८ वर्षीय उवारन खातुन, ३० वर्षीय अब्बास मियाँ, २७ वर्षीय फुच्चे मियाँ, ३१ वर्षीय कैलु मियाँ र ३५ वर्षीय सहजवी खातुन पनि पक्राउ परेका छन् ।

उनीहरुलाई जिल्ला अदालत मोरङले २०७३ साल असार १२ गते कुटपिट एवं लुटपाट मुद्दामा दोषी ठहर गरेको थियो । पाँच वर्षअघिदेखि फरार रहेका सबै जनालाई पक्राउ गरेर अदालतमा बुझाइएको जानकारी डीएसपी श्रेष्ठले दिए ।

त्यस्तै सवारी ज्यान मुद्दामा फरार रहेका रंगेली नगरपालिका–२ का ३५ वर्षीय सत्यलाल उरावलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । श्रेष्ठका अनुसार उरावलाई २०७० साल पुस १४ गते मोरङ अदालतले ५ महिना कैद र ५ हजार रूपैयाँ जरिवानाको फैसला गरेको थियो । प्रहरीले पक्राउ गरेर बुझाएपछि अदालतले प्रतिवादीलाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर