काठमाडौं।
आन्तरिक गृहकार्यपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले राप्रपा नेपालसँग पार्टी एकता गर्ने निर्णय गरेको छ ।
काठमाडौंको चावहिलस्थित पार्टी मुख्यालयमा सोमबार बसेको उच्चस्तरीय कार्यसम्पादन समितिको विस्तारित बैठकले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसंग पार्टी एकता गर्नेबारे ठोस एवं प्रभावकारी पहल गर्ने निर्णय गरेको हो । राप्रपाका सहप्रवक्ता किरण गिरीका अनुसार राप्रपा र राप्रपा नेपालवीच छिट्टै एकीकरण गर्ने निर्णय भएको छ । पार्टी एकता घोषणा सभा मंसिर ६ गते गर्ने निर्णय पनि राप्रपाले गरेको छ ।
राप्रपा र राप्रपा नेपालवीच एक पटक भाँडिएको पार्टी एकतालाई आन्तरिक रुपमा छलफल गरेर पुनः एकीकरणका लागि पहल थालिएको हो ।
बैठकमा अध्यक्ष पशुपति शम्शेर राणासहित वरिष्ठ नेताद्वय लोकेन्द्रबहादुर चन्द, डा.प्रकाशचन्द्र लोहनी, महामन्त्रीद्वय दीपक बोहरा बुद्धिमान तामाङ्गको सहभागिता रहेको थियो ।
त्यसैगरी बैठकमा ध्रुवबहादुर प्रधान, नवराज सुवेदी, प्रतिभा राणा, बालाराम घर्तीमगर, हरिबहादुर बस्नेत, गोकुलप्रसाद कुर्मी, प्रेमबहादुर भण्डारी, विक्रम पाण्डे, ठाकुरप्रसाद शर्मा, नीलकण्ठ काफ्ले, सुनिल बहादुर थापाको पनि सहभागिता रहेको थियो ।