इलाम ।
नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालको संविधान उत्कृष्ट संविधान भएकाले यसको कार्यान्वयनका लागि सबैदल एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ ।
संविधान कार्यान्वयन गरेर नेपाललाई निरन्तर समृद्धिको बाटोमा अग्रसर गराउनुुपर्ने उहाँले बताउनुभयो । कुनै पनि देशसँग कटुता र शत्रुता सिर्जना गर्न आफूहरुले नचाहेको र चाँडोभन्दा चाँडो संविधान कार्यान्वयनतर्फ लाग्नुपर्ने उहाँले बताउनुभयो ।
इलामको श्रीअन्तु डाँडामा निर्मित सूर्योदय भ्यु टावरको उद्घाटनका क्रममा बोल्दै उहाँले संविधान कार्यान्वयनका लागि चाँडोभन्दा चाँडो तीनवटा निर्वाचन सम्पन्न गर्नुपर्ने बताउनुभयो ।अन्तु पर्यटन पूर्वाधार विकास निर्माण समितिका संयोजक धनकुमार आलेको अध्यक्षतामा भएको कार्यक्रममा खनालले भ्यू टावरको साँचो समालबुङ गाविसका सचिव इन्दिरा लामालाई हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा मेची पहाडी पर्यटन प्रवद्र्धन विकास समितिका कार्यकारी निर्देशक केशवकुमार द्यौरालीले समितिको रु ५१ लाख ५० हजार र २० प्रतिशत थप जनसहभागितामा भ्यू टावर निर्माण भएको जानकारी दिनुभयो । कार्यक्रममा लाप्चा, राई, मगर, तामाङ, गुरुङ जातिको झाँकी र सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।