Aamsanchar

बोक्सा–बोक्सीको आरोपमा देवर–भाउजूलाई कुटपिट र दुर्व्यवहार

Author Image
शुक्रवार, कार्तिक १२, २०७८

   

जनकपुरधाम – महोत्तरीमा बोक्सा–बोक्सी भएको आरोपमा देवर–भाउजूलाई कुटपिट र दुर्व्यवहार गरिएको छ।

प्रहरीका अनुसार महोत्तरीको औरही नगरपालिका ९ अवलेशरामा ५० वर्षीय झप्सी ठाकुर र उनकी ५५ वर्षीया भाउजू सुनैना देवीलाई बिहीबार साँझ बोक्सा–बोक्सीको आरोप लगाउँदै कुटपिट गरी मलमूत्र खुवाइएको हो।

स्थानीयका अनुसार साँझ सवा ६ बजे ४० वर्षीया शीलादेवी मण्डल, उनका छोरा १६ वर्षीय रामउदेश मण्डल, ३५ वर्षीय दुखियादेवी र उनका छोरा १५ वर्षीय कृष्ण मण्डलले दुवैजनालाई कुटपिट गरी मलमूत्र खुवाएका हुन्।

घटनालगत्तै इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको प्रहरी टोलीले उद्धार गरी दुवैजनालाई स्थानीयस्तरमा उपचारका लागि भर्ना गरेको छ.

दशैँअघि शीलादेवीका श्रीमान् र रूपती सँगै बसेर मदिरा सेवन गरेको र सोही रात शीलादेवीका श्रीमान्‌को मृत्यु भएको थियो। त्यसपछि बिहीबार भएको मोटरसाइकल दुर्घटनामा शीलादेवीका छोरा रामउदेशको ज्यान गएपछि टुनामुना गरी मारेको आरोप लगाउँदै कुटपिट गरी मलमूत्र खुवाइएको प्रहरीले जनाएको छ।

पीडित पुरुषको बायाँ आँखा र खुट्टामा चोट लागेको छ। घटनामा संलग्नमध्ये शीलादेवीलाई प्रहरीले पक्राउ गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए।

उनले पीडितले दिएको जाहेरीका आधारमा घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गरिने बताए।

पीडित र पक्राउ परेकालाई आज शुक्रवार जिल्ला प्रहरी कार्यालय (महोत्तरी) ल्याइएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी प्रकाश विष्टले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

यसअघि दशैँमा पनि बोक्सीकै आरोपमा एक महिलाको हत्या गरिएको थियो भने अर्कीलाई मलमूत्र कोच्याइएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर