काठमाडौं:
माइक्रोबस दुर्घटनामा घाइते राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री बिमलेन्द्र निधि अस्पताल पुगेका छन् ।
सिनामंगलको मेडिकल कलेजमा उपचार गराइरहेका केसीको स्वास्थ्य अवस्थाबारे अस्पताल पुगेर उपप्रधानमन्त्री समेत रहेका गृहमन्त्री निधिले जानकारी लिएका हुन् ।
मन्त्री निधी केसीको स्वास्थ्य अवस्था बुझ्न बुधबार साँझ अस्पताल पुगेका हुन् । ७६ बर्षीय नेता केसीको टाउकोको पछाडि सामान्य चोट लागेको छ । भेटमा गृहमन्त्री निधिले उपचारमा कुनै कमी हुन नदिन चिकित्सकलाई आग्रह गरेका छन् । केसीको उपचारमा संलग्न चिकित्सकले दुई दिनमै केसीको डिस्चार्ज हुने बताएका छन् ।
बुधबार बिहान पार्टीको बैठकमा भाग लिन माइक्रोबस चढेर गौशालाबाट चाबहिलतर्फ जाँदै गर्दा केसी चढेको बस दुर्घटनामा परेको थियो । गृहमन्त्री निधिसँगै केसीको स्वास्थय अवस्था बुझ्न प्रहरी महानिरीक्षक (आइजिपी) उपेन्द्रकान्त अर्याल समेत अस्पताल पुगेका थिए ।