Aamsanchar

गरिबीकै कारण रोग पालेर ज्यान जान्छ

Author Image
सोमवार, मंसिर १३, २०७३

जाजरकोट।images

सक्ला गाविस–१ कि कमला खत्रीको पेट दुख्दै गर्दा स्वास्थ्य संस्थाको मुख नै नदेखेर एक वर्ष अघि मृत्यु भयो । खत्रीलाई नजिक स्वास्थ्य संस्था भए पनि आर्थिक अभावका कारण उपचारका लागि एक पटक पनि लगिएन ।

निरन्तर दुई वर्षको पेट दुखाइ पछि पानीबाट चल्ने घट्टमा मकैको पिठो पिस्न राति ३ बजे गएकी खत्रीको घटनास्थलमा नै मृत्यु भयो ।

त्यस्तै सक्ला–६ लुहागकी धनमाया बोहराको पेट दुख्ने समस्याकै कारण ३३ वर्षकै उमेरमा मृत्यु भयो । उनको लगातार तीन वर्षसम्म पेट दुख्ने गर्दथ्यो । पेट दुखेपछि अस्पताल लानका लागि धनमायाको परिवारले रकम जुटाउन सकेनन् । आर्थिक अभावकै कारण कात्तिक ७ गते स्याउँला लिन गएको बेला धनमायाको जङ्गलमै मृत्यु भएको परिवारले एक दिन पछि मात्र थाहा पाए । मृत्यु भएको एक दिन बितिसकेपछि धनमायाको शवलाई स्यालले खाइसकेको रहेछ उहाँका श्रीमान् टेकबहादुर बोहराले आँसु झार्दै भन्नुभयो ।
अस्पताल लानका लागि पैसाको जोहो गर्न एक रोपनी जग्गा बिक्री गर्ने तयारी हुँदै उनको मृत्यु भयो, अब छोराछोरी कसरी पाल्ने, म अपाङ्ग छु बोहराले थप्नुभयो । खत्री र बोहरा त प्रतिनिधि पात्र मात्र हुन् । जिल्लाका अधिकांश ग्रामीण क्षेत्रका महिला आर्थिक अभावकै कारण ठूला अस्पताल जान सक्दैनन् । गाउँ घरका स्वास्थ्य संस्थामा श्रीमान्लाई पठाएर ल्याएको औषधिले काम चलाउँछन् । रोग नै के लागेको हो भन्नेसम्म थाहा नै नपाएर ग्रामीण क्षेत्रका महिला पीडा सहेरै अकालमै मृत्यु हुने गरेको नलगाड सरोकार समितिका अध्यक्ष गणेशप्रसाद सिंहले बताउनुभयो ।

जतिसुकै पीडा भए पनि पैसा तिरेर ठूला अस्पतालमा जानका लागि ग्रामीण भेगका स्थानीयका लागि फलामको चिउरा चपाउनुसरह नै भएको छ । सामान्य रोग देखा पर्ना साथ आफैँ निको भइहाल्छ भनेर सुरुमा लापर्बाही गर्ने पछि रोग बल्झिएपछि मोटो रकम नपाउने समस्याले गर्दा यहाँका ग्रामीण क्षेत्रका महिला अकालमै मृत्युवरण गर्न बाध्य छन् ।

सडक सञ्जालले नछोएका कारण यहाँका गाउँ, घरमा डोकोमा बोकेर बिरामी स्वास्थ्य संस्था ल्याउनुपर्ने बाध्यता छ । डोकोमा बोक्नका लागि कम्तीमा तीन जना सहयोगी चाहिन्छ, अप्ठ्यारो बाटो छ सहजै उपचारका लागि बिरामीलाई स्वास्थ्य संस्था ल्याउन पनि मुस्किल भएको स्थानीय शिक्षक बताउँछन् । ग्रामीण क्षेत्रमा सबैभन्दा बढी ग्यास्टिक, पाठेघर खस्ने, टिवीका कारण ज्यान जाने गरेको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ ।

शनिबार दल्लीमा भएको एक दिने स्वास्थ्य शिविरमा ७० प्रतिशत बिरामी टिवी, ग्यास्टिक, पाठेघर खस्ने समस्या र यौनरोगका बढी समस्या भएका बिरामी उपचारका लागि आएको डाक्टर विभान्त शाहले जानकारी दिनुभयो ।

Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर