Aamsanchar

मोरङ : दुई दिनदेखि बेपत्ता करुणाको बलात्कारपछि हत्या भएको खुलासा

Author Image
शुक्रवार, फागुन १३, २०७८

विराटनगर : घरबाट एक घण्टा पैदल हिँडेर पुगिन्छ करुणाको विद्यालय। बिहानै झोलामा किताब बोकेर हिँडेकी उनी फेरि कहिल्यै नफर्किने गरी बिदा भइन्। पढ्न हिँडेकी मोरङको लेटाङ नगरपालिका-८ ज्यामिरे टोलकी १२ वर्षीया करुणा राईले कारुणिक मृत्यु बेहोर्नुपर्ला भन्ने कल्पना गरेकी थिइन्, न उनको परिवारले नै।

ज्यामिरे मोरङको उत्तरी दुर्गम क्षेत्रमा पर्छ। सधैँ साथीसँग विद्यालय जाने आउने गर्ने गर्थिन् उनी। तर त्यो दिन सबै साथी स्कुलबाट साँझ घर फर्किए पनि उनी भोलिपल्ट बिहानसम्म पनि घर फर्किइनन्। बुधबार हराएकी उनको शव शुक्रबार बिहान लेटाङ-८ लालहीरा सामुदायिक वनमा केराको झ्याङभित्र फेला पर्‍यो। उनको शव निर्वस्त्र फेला परेको थियो।

शरीरको विभिन्न भागमा चोटपटक लागेको अवस्थामा उनको शव फेला परेको थियो। उनको बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ। बलात्कारपछि हत्या गरेर बालिकाको शव लुकाउन झ्याङमा ढुंगाले थिचेर गाडिएको अवस्थामा भेटिएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताए।

घटनास्थलबाट करुणाको शव निकाल्दा स्थिति तनावपूर्ण बनेको थियो। स्थानीय र विद्यार्थीहरूले बलात्कारपछि हत्या गरेर फालेको हुनसक्ने भन्दै गहन अनुसन्धान गरि घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग राख्दै प्रदर्शन गरेका थिए। प्रशासनले दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएपछि मात्र उनीहरूले शव पोस्टमार्टमका लागि लैजान दिएका थिए।

हत्या आरोपमा एक पक्राउ

बालिकाको बलात्कारपछि मुख थुनेर हत्या गरेको आरोपमा सोही ठाउँका ६३ वर्षीय दिपक गिरीलाई प्रहरीले पक्राउ गरेको छ। स्कुलबाट घर फर्किने क्रममा लेटाङ-८ लालहीरा सामुदायिक वनभित्र बुधबार साँझ ५ बजे गिरीले बालिकाको मुख थुनेर हत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीले अनुसन्धानपछि वास्तविकता पत्ता लगाउँदै घटनामा संलग्न गिरीलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी जिसीले जानकारी दिए।

उनका अनुसार गिरीकी पत्नीको एक महिनाअघि मृत्यु भएको थियो। ‘गहिरो  अनुसन्धानपछि अपराधी पत्ता लागेको छ,’ एसपी जिसीले भने, ‘बलात्कार गरेपछि बालिकाको मुख थुनेर हत्या गरेर ढुङ्गाले थिचेको र उनी त्यहाँबाट हिँडेको बयानका क्रममा स्वीकार गरेका छन्।’ अहिलेसम्मको प्रराम्भिक अनुसन्धानबाट गिरीको मात्र संलग्न देखिएको उनले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 510

प्रतिक्रिया (०)

सम्बन्धित खबर