(पार्थ मण्डल)

भद्रपुर।

झापाको सदरमुकाम भद्रपुरमा निर्माणधिन अवस्थामा रहेको गिरीजाप्रसाद कोइराला स्मृति भवनमा ठेकेदारले कमसल सामाग्री प्रयोग गर्ने गरेको पाइएको छ ।नेपाल सरकारको राष्ट्रिय योजना अन्र्तगत करोडौ लागत बन्न लागेको आधुनिकस्तरको भवनमा कमसल सामाग्री प्रयोगले भवन नै गुणस्तरहीन बन्ने निश्चित छ ।
भद्रपुर नगरपालिका १० स्थित मेची रंगशाला अगाडी जिल्ला विकास समिति झापाको स्वामित्वमा रहेको ७ कठ्ठा २ धुर जग्गामा निर्माणधिन गिरीजाप्रसाद कोइराला स्मृति भवनमा कमसल सामाग्री प्रयोग हुने गरेको स्थलगत रिपोटिङ्गको क्रममा फेला परेको छ ।

जिल्ला विकास समिति झापा अन्तरगतको सो भवनको शिलान्यास तत्कालिन प्रधानमन्त्री स्व. शुशिल कोइराला, एमाले अध्यक्ष के.पी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारले संयुक्त रुपमा २०७२ साल असार २७ गते एक भव्य समारोहका बिच गर्नु भएको थियो । देशका वर्तमान प्रधानमन्त्री रहनु भएका प्रचण्डले समेत शिलान्यस गर्नु भएको भवनमा ठेकेदारले सरकारी इस्टिमेट भन्दा फरक ढंगले काम गर्दै आइरहेको पाइएको छ ।
ठेकेदारले एक नम्बर इटटा प्रयोग गर्नुपर्नेमा २ नम्बर इट्टा (काचो इटटा) प्रयोग गर्दै आइरहेका छन् । ढलाई तथा इटटा जडानमा समेत सिमेन्टको मात्रा कम हाल्ने गरेको भवनमा खटाइएका कर्मचारीले समेत स्वीकार गरेका छन् । विशेष गरी भवन निर्माणमा हाल भईरहेको इटटा जडानको काम त्रुटि पूर्ण छ । भवनको जगमै कमसल इटटा जडानले भवनको गुणस्तरमै प्रश्न उब्जिएको छ । कमसल इटा प्रयोग हुने गरेको बिषयमा भवन रेखदेखको लागी जिविस झापाले करारमा खटाएका कर्मचारी मेघराज ओझाले कमसल इटटा ल्याउने गरेको स्वीकार गर्नु भयो । उहाले कमसल इटटा पठाएकोले इटटा कम्पनीसंग कुरा गरेर इटटा फर्काइरहेको बताउनु भयो ।
कमसल इटटा नभएर ठेकेदारका भाई रन्दिर शाहले भवनको काम सूरु गर्दादेखि नै गुणस्तरहीन सामाग्री प्रयोग गर्दै आइरहेका थिए । शाहले गुणस्तरहीन सामाग्री प्रयोग गरेको प्राविधिक कर्मचारीले भेटाएपछि ठेकेदारले भाई शाहलाई भवनको जिम्मेबारीबाटै हटाएका घटना पनि बाहिर आएको छ । शाहले मिक्चर मेसिशनबाट निकालिएको सामाग्रीलाई ल्याव टेस्ट गर्नुपर्नेमा अर्को सामाग्री बनाएर कोठामै ल्याव टेस्ट गर्दै आइरहेको फेला परी बिवाद नै भएको कर्मचारी ओझाको भनाई छ । प्रेरा–शाह इन्जिनीयरिङ्ग जेभी काठमाण्डौका ठेकेदार सञ्जीव शाहले ११ करोड २६ लाख २७ हजार ५ सय ५९ रुपैया लागतमा ०७२ असार १० मा कार्य सुरु गर्ने गरी सम्झौता गरेको थियो ।
सो कम्पनी निर्माण कार्य ०७४ असार १० सक्ने गरी सम्झौता गरेपनि हाल सम्मको २० प्रतिशत मात्र काम भएको देखिन्छ । पत्रकारले गरेको स्थलगत रिपोटिङ्गमा कमसल इटटा जतात्यतै जडानको लागि राखेको भेटिएको छ । भवनमा कमसल इटटा प्रयोग भइरहेको बिषयमा कम्पनीका फिल्ड सुपरभाइजर शमिर अधिकारीलाई जिज्ञासा राख्दा उहाले केबीआई इट्टा उद्योगले नै विलमा १० प्रतिशत अन्य इट्टा आउनसक्ने भएपछि यस्तो समस्या आएको बताउनु भयो ।
२ नम्बर इट्टा आएको पत्ता लागेपछि चार ट्याक्टर उद्योगलाई नै फिर्ता गरेकोले हाल प्राविधिकले स्विकृत गरेको सामाग्रीमात्र प्रयोग गरेको अधिकारीको भनाई छ । निर्माणधिन भवनलाई भवनमा ठेकदारका तर्फवाट इन्जिनीयर विशाल कुमार शाह, सरकारीवाट जिल्ला प्राविधिक कार्यालयका प्रमुख जिल्ला इन्जिनीयर सुशिल श्रेष्ठ लगायत रहेका छन् । प्रेरा–शाह इन्जिनीयरिङ्ग जेभीका ठेकेदार सञ्जीव शाहले मालपोत कार्यालय र प्रशासन कार्यालय झापाको भवन गुणस्तरहीन बनाएको घटना सेलाउन नपाउदै गिरीजाप्रसाद कोइराला स्मृति भवनमा पनि कमसल सामाग्री प्रयोग गर्ने थालेका छन् ।
नेपाल सरकारको राष्टिय योजना अन्तरगतको भवनमा कमसल सामाग्री प्रयोग हुनाले भवन हेर्ने सरकारी इन्जिनियर पनि शंखाको घेरामा परेको छ । तीन तले बहुकोठे र सभाहल सहित बन्ने यस भवनलाई पनि मालपोत र प्रशासन कार्यालय जस्तै गुणस्तरहीन बनाउन खोजिएकोले यसतर्फ सम्बन्धित निकायले समयमै ध्यान दिन जुरुरी देखिन्छ । यता प्रेरा–शाह इन्जिनीयरिङ्ग जेभी धापासी काठमाण्डौका ठेकदार सञ्जीव शाहले गुणस्तर हिन भएको पाईएमा सुधार गरिने बताउनु भयो ।

