Aamsanchar

मेचीनगरमा महिलाको हत्या आरोपमा एकजना पक्राउ

Author Image
बिहिवार, फागुन २६, २०७८

झापा –मेचीनगरमा वृद्ध महिलाको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मेचीनगर नगरपालिका– ५ निवासी २७ वर्षीय रणबहादुर बस्नेत रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।

 

प्रहरीका अनुसार बुधबार साँझ मेचीनगर-५ पिपल डाँडाचोक निवासी ६८ वर्षीया अम्बिका कुँवर मृत अवस्थामा फेला परेकी थिइन्। घाँस काट्न हिँडेकी श्रीमती अम्बिका साँझसम्म पनि घर नफर्किएपछि उनका श्रीमान् जगत् कुँवर उनलाई खोज्न हिँडेका थिए।

घरदेखि २०० मिटर पश्चिम–दक्षिणमा रहेको लीलाराज देवकोटाको बाँझो खेतमा श्रीमती मृत अवस्था देखेपछि कुँवरले तत्काल सीमा प्रहरीचौकी नकलबन्दालाई खबर गरेका थिए। त्यसपछि घटनास्थलमा इलाका प्रहरी कार्यालय काँकडभिट्टा र प्रहरी कार्यालय झापाको टोली घटनास्थल पुगेका थिए।

प्रहरीले घटनाको अनुसन्धानका लागि धरानस्थित सङ्घीय प्रहरी एकाइ डग शाखाबाट कुकुर बोलाएको थियो। घटनास्थलबाट सुँघ्दै कुकुर बस्नेतकै कोठाभित्रै पुगेका थिए। त्यसपछि प्रहरीले बस्नेतलाई नियन्त्रणमा लिएको डिएसपी पाठकले बताए।

बस्नेतले कुटपिटसँगै घाँटी थिचेर महिलाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनले भने, ‘बस्नेतले सामान्य विवादका क्रमको महिलाको हत्या गरेका रहेछन्।’ बस्नेत घरमा एकलै बस्दै आएका थिए। यता पक्राउ परेका बस्नेतलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ। महिलाको शवलाई पोस्टमार्टमका लागि धरान पठाएको जनाइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 318

प्रतिक्रिया (०)

सम्बन्धित खबर