तेह्रथुम,
तेह्रथुमको संक्रान्ति बजारका अग्निपीडितको राहत तथा पुनर्स्थापनाका लागि अहिलेसम्म एघार लाख रुपैयाँ भन्दा बढी नगद सहयोग संकलन भएको छ ।
उनीहरुको पुनर्स्थापनाका लागि दैवी प्रकोप उद्धार समितिले सञ्चालन गरेको कोष, विभिन्न संघसंस्थाले उपलब्ध गराइरहेको राहत सहयोग रकम गरी कुल ११ लाख रुपैयाँ संकलन भइसकेको हो ।
सोमबार बेलुकासम्म जिल्ला दैवी प्रकोप उद्धार समितिले सञ्चालन गरेको ‘संक्रान्तिबजार अग्निपीडित राहत तथा पुनर्स्थापना कोष’ मा ७ लाख १९ हजार ७ सय ६१ रुपैयाँ जम्मा भएको छ ।
कोषको खातामा अहिलेसम्म यत्तिका रकम जम्मा भएको निमित्त प्रमुख जिल्ला अधिकारी जयप्रकाश बस्नेतले जानकारी दिनुभयो । स्थानीय शान्ति समितिको अगुवाइमा एक लाख १३ हजार रुपैयाँ संकलन भएको छ ।
यसबाहेक संक्रान्ति बजारमा गठन भएको अग्नि पीडित राहत तथा पनुर्स्थापना समितिलाई प्राप्त ताप्लेजुङ उद्योग बाणिज्य संघको दुई लाख, पाँचथरमा संकलित एक लाख १४ हजार, मोरङ जिल्लाबाट र अन्य संघसंस्था तथा व्यक्तिबाट गरी झण्डै ११ लाख रुपैयाँ बढी राहत सहयोग प्राप्त भएको हो ।