Aamsanchar

आज तमु ल्होसार पर्व, सार्वजनिक विदा

Author Image
शुक्रवार, पौष १५, २०७३

काठमाडौं :tamu-losar11_c5ZX9gRYpq

गुरुङ समुदायले बाँदर वर्गलाई बिदाइ गरी चरा वर्गलाई स्वागत गरेर पुस १५ गते तमु ल्होसार पर्व मनाउँदैछ। ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समाजका अध्यक्ष रेशम गुरुङले जानकारी दिए।

‘तमु संस्कृतिअनुसार चरालाई शान्तिको प्रतिक मानिने भएकाले पुस १५ गते शुक्रबारदेखि शान्तिमय समय सुरु भएको खुसीयालीमा सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवम् नाचगान गरेर यो पर्व मनाइन्छ’– उनले भने।  ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएका क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको अध्यक्ष गुरुङले बताए।  यस पर्वका अवसरमा शुक्रबार सरकारले सार्वजनिक बिदा दिएको छ। यसअवसरमा टुँडिखेलमा विशेष कार्यक्रम गरिने गुरुङ समाजले जनाएको छ। कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाललगायत प्रमुख दलका शीर्ष नेताको सहभागिता रहनेछ।

Views: 168

प्रतिक्रिया (०)