Aamsanchar

कर्मले चिनिएका राजेन्द्र पोखरेल

Author Image
शनिवार, वैशाख २४, २०७९

कोभिडको वेला अक्सिजन ग्यास लिएर नागरिकको घरघरमा पोखरेल ।

कनकाई । राजेन्द्र कुमार पोखरेल झापाली राजनैतिकको चर्चित नाम हो । राजनैतिक र समाजिक क्षेत्रमा उत्तिकै समर्पित पोखरेलको जन्म खोटाडको खार्पामा पिता गणेश पोखरेल र माता देवीमाया पोखरेलको जेठो छोराको रुपमा वि.सं. २०२१ साल मंसिर १५ गते भएको थियो । सरस्वती प्राथमिक विद्यालय जामुनवारीबाट प्रारम्भिक शिक्षा सुरु गर्नुभएका पोखरेलले कनकाई मा.वि., सुरुंगाबाट २०३६ सालमा एस. एल.सी. उत्तिर्ण गर्नुभएको थियो ।

कोभिडको वेला औषधि लिएर नागरिकको घरघरमा पोखरेल ।

समाजको शैक्षिक, आर्थिक, सामाजिक लगायतका क्षेत्रको सकारात्मक परिवर्तन र विकासमा अनवरत योगदान र नेतृत्व प्रदान गरेको राजनैतिक संस्कारको कुलीन परिवारमा जन्मिएका पोखरेललाई सामाजिक सेवामा समाहित र समर्पित हुनुपर्छ भन्ने भावना र प्रेरणा आफ्नै पिता र परिवारबाट मिलेको थियो ।
अध्ययनको शिलशिलामा विराटनगरमा आफन्तको घरमा डेरा गरी बस्ने क्रममा उहाँहरुको बामपन्थीप्रतिको झुकावको प्रभाव र क्याम्पसमा अग्रज र साथीभाईको संगतको कारण कम्प्युनिष्ट पार्टी प्रतिको सकारात्मक प्रभाव र माक्सवादी दर्शनबाट प्रभावित भई पोखरेल अनेरास्ववियूको सदस्य बन्न पुग्नु भयो । पिता गणेशप्रसाद पोखरेलले तत्कालीन समयमा पञ्चायती शासन व्यवस्थामा जनताको प्रतिनिधित्व गर्दै प्रधानपञ्चको जिम्मेवारी सम्हाल्नु भएको भएपनि उहाँले छोराछोरीलाई राजनैतिक पार्टी रोज्नको लागि स्वविवेक प्रयोग गर्ने स्वतन्त्रता प्रदान गर्नुभएको थियो ।

नदी कटाउन रोक्ने प्रयासमा आफै लाग्दै पोखरेल । साथमा स्थानीयहरु ।

क्याम्पस अध्ययन कै क्रममा अनेरास्ववियूको प्रतिनिधित्व गर्दै स्ववियूमा निर्वाचित भईरहदा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीसँग एउटै कमिटीमा बसेर काम गरेको अनुभव पोखरेलसँग छ । पञ्चायत विरोधी राजनैतिक दलहरु भूमिगत भएको तत्कालिन समयमा विद्यार्थी संगठनहरुबाटै राजनैतिक गतिविधि गर्नुपर्ने अवस्थामा पोखरेलले सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । भूमिगत राजनैतिक पार्टीका गतिविधिलाई समर्थन गर्दै विराटनगरमा २०३८ सालतिर भएको विद्यार्थी आन्दोलनका क्रममा उहाँहरुका समकक्षी फडिन्द्र तिम्सिनाले साहदत प्राप्त गर्नुभएको थियो ।

विपन्न नागरिकको घर निर्माणमा श्रम गर्दै राजेन्द्रकुमार पोखरेल ।

२०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागीता जनाउनु भएका पोखरेलले २०४७ सालदेखि पार्टी कमिटीमा सक्रिय हुनुभयो । राजनैतिक सक्रियताका क्रममा २०४८ सालमा प्रगतिशिल राष्ट्रिय युवा संघ क्षेत्र नं. ४ को संयोजकको जिम्मेवारी सम्हाल्नु भएका पोखरेलसँग गाउँ, नगर, जिल्ला कमिटीका विभिन्न जिम्मेवारीमा रही काम गरेको अनुभव छ । हाल नेकपा एमाले प्रदेश कमिटी सल्लाहकारको जिम्मेवारीमा रहनुभएका पोखरेलको जीवन निर्वाहका क्रममा हाल गौरादह न.पा (साविक जुरोपानी ८) निवासी पिता भोजराज र माता अम्बिका वस्तीकी एकमात्र सुपुत्री हेलेन (मुना) वस्तीसँग वि.सं. २०५० सालमा बैबाहिक जीवनमा बाँधिुन भएको थियो । एक छोरा र २ छोरीलाई दरिलो छहारी प्रदान गरिरहनु भएका कुशल अभिभावक पोखरेल २०४९ सालमा भएको स्थानीय तहको निर्वाचनमा सुरुंगा गा.वि.स.को उपाध्यक्षमा निर्वाचित भई जनताको सेवामा समर्पित हुनुभयो ।

अग्रजहरुको प्रेरणा, आफ्नो अनुभव, प्रयास र कर्मले निरन्तर अघि बढीरहनु भएका पोखरेलले २०५४ सालदेखि ५९ सालसम्म झापा जिल्ला विकास समितिको सदस्यको रुपमा कुशलतापूर्वक भूमिका निर्वाह गर्नुभएको थियो ।
शालीन व्यक्तित्व र प्रगतिशील सोचका धनी पोखरेल, एक सफल व्यवसायी पनि हुनुहुन्छ । नवयुग शिक्षा निकेतन, हलेसी चिया वगान जस्ता सफल शैक्षिक र व्यवसायिक प्रतिष्ठान मार्फत सयौलाई रोजगारी प्रदान गरेर वेरोजगारी न्यूनिकरण र आर्थिक सम्बृद्धिमा समेत उहाँले उत्तिकै योगदान पुर्याउनु भएको छ ।
युवा पुस्तालाई सामाजिक सेवामा निरन्तर समर्पित रहन सकारात्मक उर्जा प्रदान गर्ने पोखरेलले विभिन्न सामाजिक संघसंस्थामा रही कुशलतापूर्वक भूमिका निर्वाह गर्ने क्रममा सामुदायिक वन महासंघको केन्द्रीय कार्यसमितिमा रहेर सदस्यको रुपमा रहेर लामो समयसम्म काम गर्नुभएको छ ।

सामाजिक, व्यवसायिक र राजनैतिक क्षेत्रमा उत्तिकै सक्रिय पोखरेलले आफ्नो पार्टीले विभिन्न समयमा दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्दै संविधान सभाको निर्वाचन र संसदीय निर्वाचनमा पार्टीको तर्फबाट उम्मेद्वार बन्नुभएका सांसदहरुलाई विजयी गराउनु शसक्त भूमिका खेल्नुभएको थियो ।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा कनकाई नगरपालिकाको प्रमुखको रुपमा जिम्मेवारी सम्हालेपछि पोखरेलले यस नगरलाई नेपालको नमुना नगर बनाउन निक्कै ठूलो मेहेनत गर्नुभएको छ । जनताको साथ र जनप्रतिनिधि, कर्मचारी लगायतको मेहेनतको कारण यो नगर उत्कृष्ट भएको बताउनुहुन्छ । व्यक्तिगत जीवन र निजी स्वार्थभन्दा माथि उठेर निरन्तर जनताको सेवामा समर्पित भएकै कारण कनकाई नगरका मेयरलाई राष्ट्रिय स्तरमा पहिचान गराउने आधार सिर्जना भएको उहाँको भनाई रहेको छ ।

कोभिडको समयमा आफू बुबाको बार्षिकी बारेर रहेका समयमा पनि दिनभरी पानीपनि नखाई कोभिडका बिरामीका घर घरमा डाक्टर, औषधी, अक्सिजन सिलिण्डर र पौष्टिक आहार सहितको टोली लिएर घर घरमा गई सेवा प्रदान गरेको, जिल्ला मै पहिलो पटक युरोपियन स्तरको अक्शिजन प्लान्टको उत्पादनको लागि उद्योग स्थापना भएको, मजदुरलाई मालिक बनाउन श्रमिक स्वावलम्वन कंक्रिट उद्योगको स्थापना गर्नुको साथै मजदुर सहकारीको स्थापना गरी नगर भित्रका हरेक क्षेत्रका मजदुर सहकारीको सदस्यबन्न पाउने व्यवस्था गरी उनीहरु विरामी भएमा उपचार, क्षतिपूर्ति र विमाको व्यवस्था गरिएको जस्ता थुप्रै सामाजिक काममा उहाँले अतुलनीय योगदान गर्नुभएको पाईन्छ ।

यसको अतिरिक्त नदी नियन्त्रण तटबन्धन तथा प्राकृतिक विपत्तिको समयमा घाम, पानी, झरी वा घनघोर वर्षा केही नभनी मजदुरसँगसगै वा विपत्त व्यवस्थापन समितिसगसगै मिलेर गरेको कामको राष्ट्रिय स्तरका सञ्चार माध्यमले समेत चर्चा गरेका थिए ।
सरकारले जनता आवास कार्यक्रमको अवधारणा ल्याउनु र लागू गर्नु अघि नै कनकाई नगरपालिकामा मेयर आवास योजनाको अवधारणा ल्याई विभिन्न सहयोगी संस्थाहरुसँगको समन्वयमा हालसम्म ३६५ वटा घर निर्माण भईसकेको र ९५ वटा निर्माणको क्रममा रहेको, आफ्नो पारिश्रमिकको १ वर्षको तलबले ज्येष्ठ नागरिक अक्षयकोष स्थापनामा सहयोग गरेको, अर्को एक वर्षको तलब मजदुर हितकोषमा खर्च गरेको र वाँकी ३ वर्षको तलब अक्शिजन प्लाट निर्माणमा खर्च गरेर उदाहरणीय कार्य गर्दै आउनु भएको छ ।

नगरपालिकामा ठूलो रकम खर्च गरेर नयाँ साधन खरिद नगरी पुरानै साधनबाट काम चलाएर नगरलाई मितव्ययी बनाउन प्रयास गरेको, कनकाई नगरको नेतृत्वमा अन्य दुईबटा पालिकासँग समन्वय गरेर खेर गईरहेको र वातावरण प्रदुशित गर्ने फोहोरलाई व्यवस्थित र प्रशोधन गरी जैविक मल र वायो ग्यास उत्पादनको अन्तिम चरणमा पुगेको, कनकाईको सान वन्द निषेधित क्षेत्र झल्कने स्मारक निर्माण गरेको निक्कै महत्वपूर्ण कामहरु उहाँले नेतृत्व गरेका कनकाई नगरपालिकाले गरेको छ ।
सुरुङ्गा कहिल्यै बन्द हुदैन भन्ने उपनामबाट सुपरिचित कनकाई नगरपालिकाको सामाजिक सद्भाव र एकता जसरी देशभरी नै उदाहरणीय बनेको छ त्यसरी नै यो नगरपालिकाले साच्चैकै उदाहरणीय नगरप्रमुख पनि पाएको छ भनी जनताहरु आफ्नो नगरपिताप्रति गौरव अनुभूति गर्दछन् ।
जनताका दुःख नै आफ्ना दुःख रहेको अनुभूति गर्ने नगरप्रमुख राजेन्द्र पोखरेल कनकाईलाई नेपालको एक उत्कृष्ट, नमुना नगर मात्र नभएर एक सुन्दर बगैचा बनाउने परिकल्पना रहेको पोखरेल बताउनु हुन्छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
12
+1
9
+1
0
+1
2
+1
0
+1
0
+1
0
Views: 254

प्रतिक्रिया (०)

सम्बन्धित खबर