दाङ।
दाङका गर्भवती महिलालाई गर्भ परीक्षण गराउन फोनबाटै निम्ता आउने गरेको छ ।
गर्भवती महिलालाई पाँचपटक स्वास्थ्यचौकीले फोन गर्ने गर्दछ । गर्भवती भएको ४ महिना, ६ महिना, ८ महिना, ९ महिना र गर्भवतीलाई सुत्केरी हुने मिति पुग्यो भने स्वास्थ्यचौकीले फोन गर्ने गरेको छ ।

‘सुरक्षित मातृशिशु अभियानअन्तर्गत् स्वास्थ्यचौकीले यो सेवा केही महिना पहिलेदेखि सुरु गरेको हो, यसले गर्दा पछिल्लो समयमा गर्भवती महिलालाई स्वास्थ्य संस्थामै सुत्केरी गराउनुपर्छ भन्ने चेतना प्रवाह भएको छ’–रावतले भने ।

त्यसैगरी, गर्भवती महिलाले स्वास्थ्य संस्थाबाट जाँच गराएर फर्कंदा उपहारस्वरुप आयोडिनयुक्त नुनको पोको र आइरन चक्की पनि दिने गरिएको छ ।

यतिमात्र होइन, स्वास्थ्यचौकीले सुत्केरीपछि घर फर्कंदा तथा सुत्केरी हुन आउँदा उनीहरुलाई निःशुल्क एम्बुलेन्स सेवा पनि दिने गरेको छ । उनीहरुलाई स्वास्थ्य संस्थामा बस्दा खाजाकोसमेत व्यवस्था गरेको छ ।

घर फर्किएपछि पनि सुत्केरी भएको तेस्रो र सातौं दिन घरमा नै पुगेर आमा र बच्चाको स्वास्थ्यकर्मीले चेकजाँच गर्ने व्यवस्था मिलाएको रावतले बताए ।
चेकजाँच गर्न जाने स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्यचौकीले खाजाको व्यवस्थासमेत मिलाएको छ ।रावतका अनुसार गर्भवती र सुत्केरी महिलाका लागि लाग्ने यो खर्चको व्यवस्थापन स्वास्थ्यचौकीले आन्तरिकरुपमा आफैं व्यवस्था गर्ने गर्छ ।
योसँगै हाल स्वास्थ्यचौकीमा सुत्केरी गराउन आउनेको संख्यामा पनि बृद्धि भएको छ ।

