

विराटनगर : ‘पोखरा जाऊँ, भरतपुर जाऊँ रूखमा भोट हाल्ने छैन ठाउँ।’ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बिहान आफ्नो सम्बोधनमा यस्तो सुनाएका छन्। मिक्लाजुङ गाउँपालिकामा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

नेपाली कांग्रेसका कार्यकर्ता परेको पीरको चर्चा गर्दै उनले कांग्रेसजनको छटपटाहटलाई लक्षित गर्दै व्यंग्य गरेका हुन्। मुलुकमा अहिले कसैलाई पीर परेको छ भने त्यो सबैधन्दा कांग्रेसका कार्यकर्तालाई परेको चर्चा गरेका छन्।
उनले कांग्रेसका कार्यकर्ताले कांग्रेसको चुनाव चिह्न रूखमा मतदान गर्न नपाएको अवस्था चित्रण गरेका हुन्। उनले सबैभन्दा पीर मुलुकमा अहिले कांग्रेसका कार्यकर्तालाई परिरहेको बताउँदै भने, ‘पोखरा जाऊँ, भरतपुर जाऊँ तर रूखमा भोट हाल्ने छैन ठाउँ।’

उनले भरतपुरको चितवनको चुनावी सभामा दिएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई व्यंग्य गर्दै उनी थप्छन्, ‘मेरी छोरीलाई भोट हालेनौँ भनेर मुलुकमा दुर्घटना हुन्छ भनेर जनतालाई धम्क्याइँदै छ। कांग्रेसजनले रूखमा भोट हाल्ने कष्ट कहिल्यै गर्नु नपर्ने भयो। आज छोरी जिताउनुपर्छ। भोलि भाइ, भतिजा र अरूको जिम्मा लिनुपर्छ।’
‘भोट हालेनौ भने’ भनेर गठबन्धनका नाममा जनतालाई नधम्क्याउन ओलीले चेतावनी दिँदै अहंकार पालेका केहीले एमालेलाई चोइट्याएर केही कार्यकर्तालाई अलमल्याइरहेको उनले आरोप लगाए।
आफूले बनाएको र वर्षौदेखि दुःख गरेको पार्टीलाई छाडेर अन्त भोट नहाल्न कार्यकर्तालाई आग्रह गर्दै ओलीले जनतालाई हेर्ने र सेवा सुविधा पुर्याउने पार्टी एमाले रहेको उनले जिकिर गरे।
उनले समृद्ध नेपाल र सुखी नेपालीको अभियान एमालेले चलाइरहेको बताउँदै अभियानलाई सार्थक तुल्याएर मुलुक बनाउने महाअभियानमा सबै सहभागी बन्न आग्रह समेत गरे।
आत्मनिर्भर अर्थतन्त्र, उत्पादन वृद्धि, उद्योगधन्दा सञ्चालन, कृषिको आधुनिकीकरण लगायतका सबै काम एमालेकै नेतृत्वमा रहेको बताउँदै उनले कोही पनि अलमलमा नपरीकन समृद्ध नेपाल र सुखी नेपालीको साझा मुद्दालाई स्थापित गराउने अभियानमा होमिनुपर्नेमा जोड दिए।
‘युवाहरूलाई विदेश पठाउने हैन, मुलुकमै रोजगारीको अवसर सिर्जना गर्नुपर्छ’, उनले भने, ‘उत्पादन र उत्पादकत्व वृद्धि गरेर मुलुकलाई आत्मनिर्भर बनाउने प्रयास एमाले नेतृत्वको सरकारले गरेको छ।’
अबको स्थानीय निर्वाचनमा एमालेलाई जिताउन आग्रह गर्दै उनले एमालेका जनप्रतिनिधिले गाउँ, शहर र नगर बनाउने जिम्मा लिएको दावी गरे।


