Aamsanchar

यस्तो रह्यो सातौं राष्ट्रिय खेलकुद

Author Image
शुक्रवार, पौष १५, २०७३

सुनसरी,download

राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुुनु भन्दा एक दिन अघि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशबकुमार बिष्टले भनेका थिए ‘साताैं राष्ट्रिय खेलकुद प्रतियोगिताको व्यबस्थापन अहिले सम्मकै उत्कृष्ट हुने छ ।

’उनले खेलाडीको बासस्थान, उनीहरुको सुबिधा र खेल हुने मैदान नेपालमा भएका प्रतियोगिता मध्येकै राम्रो भएको दाबी गरे । उनीसँगै हँ म हँ मिलाए युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले । उनी छैटांै राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडीलाई दिइएको ८ सय रुपैयाँ दैनिक भत्ताबाट बढाएर एकै चोटी १४ सय पुर्याउन पाएकोमा मख्ख थिए ।

उनी यस कारणले पनि मख्ख बने खेलाडीको हातमा सिधै पैसा दिन पाएकोमा । तर खेल आयोजकहरुका दाबी  विपरीत पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता व्यवस्थित भने हुन सकेन । पटक पटक मिति सारेर गरिएको प्रतियोगितामा  भद्रगोल  धेरै देखिए ।

खेलाडीको व्यबस्थापन र आयोजक बिचको समन्वयको अभावमा खेलाडीहरुले राम्रोसँग खान समेत नपाएको गुनासो गरे । पश्चिमाअञ्चलबाट आएका खेलाडीहरुले इटहरी छाड्ने बेलामा पत्रकार सम्मेलन गरेर आफूहरु भोक भोकै गएको बताएका छन् । निर्णायकले सहि निर्णय समेत गर्न नसकेको भलिबल प्रतियोगिताको काँस्यका लागि हुने खेल त्यागेर हिँडेका खेलाडीले  पत्रकार सम्मेलनमा भने निर्णायकले समेत पक्षपात गरेको आरोप लगाएका थिए । भौतिक पूर्वाधारको अभावमा कतिपय इन्डोर गेमहरु त्रिपाल मुनि सम्पन्न भए । सुनसरीको इटहरीमा भएको तेक्वान्दो प्रतियोगिता त्रिपाल मुनि गरिएको थियो । यसैगरी मोरङमा पनि त्रिपाल मुनि सुटिङ्ग प्रतियोगिता आयोजना गरिएको थियो ।

निर्माणाधिन कर्भड हलमा भएका प्रतियोगितामा दर्शक बस्नका लागि समेत व्यबस्था थिएन । एथेलेटिक्सतर्फका दौड प्रतियोगितामा कतिपय महिला खेलाडीहरु राष्ट्रिय प्रतियोगितामा खाली खुट्टा दौडिएका छन् ।

सुदूरपश्चिमको कैलाली टिकापुरकी खेलाडी सीमाकुमारी चौधरीले आफूलाई स्पाइकका बारेमा समेत थाहा नभएको बताएकी थिइन् । उनको यो भनाईले राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्यतामा प्रश्न खडा गरेको छ । पूर्व ओलम्पीयन जीतबहादुर केसीले समेत यो प्रतियोगितालाई बृहत खेलकुद प्रतियोगिताको संज्ञा दिएका छन् । उज्यालो अनलाइनसँगको कुराकानीमा उनले भनेका थिए –‘यो राष्ट्रिय खुलकुद प्रतियोगिता भन्दा पनि बृहत खेलकुद प्रतियोगिता हो । यसलाइ राष्ट्रिय खेलकुद प्रतियोगिता भन्न सकिन्न ।’

स्थानीयको अपन्त्व भएन

राष्ट्रिय खेलकुद प्रतियोगिता भएको क्षेत्रका बासिन्दालाई प्रतियोगिताको अपनत्व गराउन नसक्नु पनि प्रतियोगिताको मुख्य कमजोरी देखियो । इटहरीमा भइरहेको खेलमा समेत खेलसँग जोडिएका संघ सस्थाको सहभागिता हुन सकेन ।
इटहरीमा ५० बर्षदेखि खेल क्षेत्रको विकासमा लागेको राष्ट्रिय जागृती क्लबले समेत राष्ट्रिय खेलकुद प्रतियोगितामा साथ र सहयोग दिन सकेन । सदस्य सचिब केशबकुमार बिष्ट समेत यस क्लबका पूर्व अध्यक्ष हुन् । स्थानीयले अपनत्व गर्न नसक्दा खेल प्रतियोगितामा दर्शकको उपस्थिती न्यून थियो । खेलकुदको महाकुम्भमा अफिसियल खेल पदाधिकारी खेलाडी र पत्रकार बाहेक अरुको उपस्थिती शुन्य प्राय थियो ।

राष्ट्रिय जागृती क्लबका अध्यक्ष सञ्जीव ढुङ्गानाले आयोजकले समन्वय गर्न नसकेको बताए । समन्वयको अभावमा नेपाली कांग्रेस निकट खेलकुद संघले प्रतियोगिता नै बहिस्कार गरेको छ । खेलाडीहरुले खेलेपनि कांग्रेस निकट खेल पदाधिकारीले प्रतियोगिता सम्पन्न गर्न सहयोग गरेनन् ।

विवाद नै विवाद

महिला क्रिकेटतर्फको फाइनल खेलमा सशस्त्र प्रहरीको टोलीले अन्तिम अवस्थामा आएर खेल नै त्याग्यो । जितिसकेको म्याचमा निर्णायकले सहि निर्णय नगरेको आरोपमा खेल परित्याग गरेपछि पूर्वाञ्चललाई विजेता घोषणा गरियो ।

यसैगरी पुरुष भलिबलको कास्यको उपाधिका लागि समेत पश्चिमाअञ्चल टिमले खेल त्याग्यो । निर्णायकको लापरवाहीले आफूहरुले फाइनल खेल्न नपाएको भन्दै पश्चिमाअञ्चलको टिमले विरोध गरेको हो । यतिमा मात्रै विवाद साम्य भएन ।

भलिबल कोर्टमा रेफ्रीमाथि हात पात गरेको आरोपमा तीन जना भलिबल खेलाडीलाई कारबाही समेत गरिएको छ । ह्याण्डबलमा समेत यस्तै अवस्था दोहोरीयो ।  झापामा भएको कराँते प्रतियोगितामा आर्मीले खेलमा सहि निर्णय नभएको भन्दै बिरोध गरेको थियो । पुरुष कवड्डीको फाइनलमा समेत बिवाद भएको थियो ।

उज्यालो आशा

कमजोर व्यबस्थापन पूर्वाधारको अभावकै बिचमा भएपनि राष्ट्रिय खेलकद प्रतियोगिताले खेलाडीहरुमा भने आशा जगाएको छ । पटक पटक सरेर भएपनि प्रतियोगिता सम्पन्न भएकोमा खेलाडीहरु भने खुसी देखिएका छन् ।

खेल हुनु खेलाडीको लागि खुसीकै कुरा हो । लामो दूरीको दौडमा स्वर्ण जितेका सशस्त्रका खेलाडी गोपिचन्द्र पार्कीले खेलकुद प्रतियोगिताले खेल क्षेत्रको भोलिको भविश्य भने राम्रो भएको संकेत गरको बताए ।

जे भएपनि खेल्न पाइयो । पहिलो पटक राष्ट्रिय खेलुकुद प्रतियोगितामा सहभागी भएर दुई वटा स्वर्ण जितेका उनले प्रतियोगिताको निरन्तरताको कामना गरे । सातौं राष्ट्रिय खेलकुदमा एथेलेटिक्सको ट्रयाकमा कीर्र्तिमान कायम नभएपनि नयाँ र आशा लाग्दा खेलाडीहरु जन्मिएका छन् । नेपाल आर्मीका खेलाडीहरु सरस्वती भट्टराई, कृष्ण चौधरी सशस्त्रका गोपी चन्द्र पार्की नयाँ अनुहारका रुपमा उदाएका छन् भने भारत्तोलनमा समेत नयाँ कीर्र्तिमान बनेको छ ।

श्रोत साधनको अभाबमा र प्रशिक्षण बिना नै राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेका विभिन्न विकासक्षेत्रका केही खेलाडीहरुले समेत नेपाली खेलकुदको सम्भावनालाई कायमै राखेका छन् । यी मध्येका एक हुन यामसाजन सुनार । उनले दुई स्वर्ण जिते । सुमन पुरी/उज्यालो

 

Views: 153

प्रतिक्रिया (०)