(पार्थ मण्डल)
भद्रपुर।

नेपाल विद्युत प्राधिकरण भद्रपुर वितरण केन्द्रले विद्युत चोरी नियन्त्रण अभियानलाई तिव्रता दिएको छ ।
नेपाल विद्युत प्राधिकरणले देशभरका क्षेत्रीय तथा जिल्लाका केन्द्रहरुलाई विद्युत चोरी नियन्त्रण अभियानलाई तिव्रता दिने निर्देशन जारी गरेलगतै भद्रपुर वितरण केन्द्रले २४ दिनमा विद्युत चोरी गर्ने १ सय ३१ जनालाई कार्वाही गरेको हो । विशेष गरी झापाको उत्तर र दक्षिणी गाविस क्षेत्रमा बढी विद्युत चोरी हुने गरेकोले केन्द्रले सोही क्षेत्रमा छडके अनुगमनलाई बढी तिव्रता दिएको छ ।
विद्युत चुहावट नियन्त्रणतर्फ पोलबाट हुकिङ्ग गर्ने १ सय १७ जना र मिटरबाट चोरी गर्ने १४ जनालाई कार्वाही गरेको केन्द्रको चुहावट नियन्त्रण शाखाका कर्मचारी केशव बानियाले जानकारी दिनुभयो ।
उनीहरुले विद्युत चुहावटमा प्रयोग गर्ने टिभी, पानी तान्ने मोटर, पंखा, डिस्क, तार लगायत २२ थान उपकरण समेत बरामद गरी ल्याएको कर्मचारी बानियाले बताउनु भयो । पोलबाट हुकिङ्ग गर्ने पक्राउ परेका व्यक्तिबाट ५ लाख ६६ हजार ५ सय रुपैया र मिटरबाट चोरी गर्ने व्यीक्तबाट २ लाख १९ हजार राजश्व असुल उपर गरिएको उहाँले बताउनु भयो ।
भद्रपुर वितरण केन्द्रबाट २० प्रतिशत विद्युत युनिट चुहावट हुने गरेको तथ्याकको आधारमा चुहावट नियन्त्रण अभियानलाई तिव्रता दिएको भद्रपुर वितरण केन्द्र प्रमुख रोशन खडकाले बताउनु भयो । मसिर १९देखि पुस १३ गते सम्म विद्युतका कर्मचारी, प्रहरीसहितको टोलीले छडके अनुगमनको क्रममा हालसम्म १ सय ३१ जना पक्राउ गरिएको केन्द्र प्रमुख खड्काले बताउनु भयो ।
हुकिङ्ग गर्ने व्यक्तिबाट न्युनत ३ हजारदेखि अधिकतम ५ हजारसम्म र मिटरबाट चोरी गर्ने व्यक्तिबाट ५ हजारदेखि ३३ हजार सम्म राजश्व उसुलउपर गर्ने प्राधिकरणको नियम अनुसार उनीहरुलाई कार्वाही गरिएको उहाले बताउनु भयो ।
उहाँका अनुसार भद्रपुर वितरण केन्द्रले पैसा नबुझाउने ग्राहकहरुको विद्युत सेवा कटौती गर्ने अभियानलाई पनि सगसगै तिव्रता दिएको बताउनु भयो । चालु आर्थिक बर्षमा पैसा नतिर्ने २ सय ५८ जनाको सेवा कटौती गरेको र उनीहरुबाट प्राधिकरणले ८१ लाख ३१ हजार ५ सय २७ रुपैया राजश्व उठाएको उहाले बताउनु भयो । भद्रपुर केन्द्रमा १७ गाविस २ नगरपालिका गरी करिव ४३ हजार ग्राहक आवद्ध छ ।

