काठमाडौं:
परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहालको संयुक्त अरब इमेरेट्स (यूएई) भ्रमणको तयारी थालेको छ । खाडी मुलुक यूएईले जनवरी १६ र १७ मा आबुधावीमा आयोजना गर्न लागेको विश्व ऊर्जा सम्मेलनमा सहभागी हुन दाहाल त्यसतर्फ जान तयारी अघि बढेको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ ।
भ्रमण निश्चित भए प्रधानमन्त्री दाहाल जनवरी १४ (माघ १) मा यूएई प्रस्थान गर्नेछन् । ऊर्जामन्त्री जनार्दन शर्मा उक्त सम्मेलनमा सहभागी हुन जाने कार्यक्रम तय भइसकेको छ ।
परराष्ट्र मन्त्रालयका अधिकारीहरूले प्रधानमन्त्रीको यूएई भ्रमणका लागि प्रारम्भिक तयारी भइरहेको जानकारी दिए । प्रधानमन्त्री ऊर्जा सम्मेलनमा जाने तयारी भए पनि भ्रमणलाई औपचारिक बनाउने प्रयत्न भइरहेको उनीहरूले बताए ।
यूएईका राष्ट्राध्यक्षलगायत उच्च राजनीतिक नेतृत्वसँग प्रधानमन्त्रीको भेटवार्ताका लागि कूटनीतिक तहबाट कुराकानी भइरहेको स्रोतले उल्लेख गर्यो ।
सरकार र प्रमुख प्रतिपक्षीबीच संविधान संशोधन विधेयकका विषयमा देखिएको तीव्र मतभेदले संसद् ठप्प भइरहेका बेला प्रधानमन्त्रीको यूएई भ्रमण तयारी थालिएको हो । प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार ऋषिराज अधिकारीले भ्रमणका लागि छलफल भइरहेको बताए ।