Aamsanchar

नक्कली जग्गाधनी बनी ठगी गर्ने गिरोह पक्राउ

Author Image
मङ्गलवार, पौष १९, २०७३

काठमाडौः

pakrau-586b05a7859292.27739011

प्रहरीले जग्गाधनीको किर्ते नागरिकता र धनीपुर्जा बनाई जग्गा पास गर्ने एक सरकारी अधिकृतसहित अन्य दुईजनालाइ पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले चितवन भण्डाराका लोकेन्द्रराज पाठकको नागरिकता र धनी पुर्जा किर्ते गर्ने खोटाङ घर भएका सरकारी अधिकृत मीनबहादुर भट्टराई, मोरङ इटहराका देवेन्द्र थापा र झापा गौरीगन्जका नगेन्द्र कार्कीलाई पक्राउ गरेको हो ।

तत्कालीन समयमा चितवन मालपोत कार्यालयमा र हाल ललितपुर उपमहानगरपालिकामा कार्यरत भट्टराईलाई लगनखेलबाट र अन्य दुईजनालाई इटहरीबाट पक्राउ गरेको हो । भट्टराईले थापा र कार्कीको निर्देशनबमोजिम किर्ते गरी पाठकको जग्गा अर्कैको नाममा पास गर्न प्रमुख भूमिका निर्वाह गरेका थिए ।

त्यही जग्गा राखेर उनीहरूले हिमालय बैंक र प्राइम बैंकबाट कर्जासमेत लिएका थिए । ब्युरोका डीआईजी नवराज सिलवालले कर्जा प्रवाह गर्ने बैंकका अधिकारीमाथि समेत छानबिन भइरहेको बताए । उनले भने, ‘बैंकको संलग्नताबारे अध्ययन भइरहेको छ ।’

उनीहरूले चितवनका लोकेन्द्रराज पाठकको नामको भण्डारा गाविसमा रहेको तीन बिघा एक कट्ठा पाँच धुर जग्गा थापालगायतको संलग्नतामा डिल्लीबजार मालपोत कार्यालय र चितवन मालपोत कार्यालयका कर्मचारीसँग मिलोमतो गरी नागरिकता तथा जग्गाधनी पुर्जा किर्ते खडा गरेका थिए ।

थापाले आफैं जग्गाधनी बनी मालपोत कार्यालय डिल्लीबजारबाट जग्गाको कुल मूल्य १ लाखमात्र राखी जग्गा बिक्री गर्ने लोकेन्द्रराज पाठक र जग्गा खरिद गर्ने जीवनराज पाठक उल्लेख गरी बेजिल्ले राजीनामा पास गराएका थिए ।

त्यसपछि मालपोत कार्यालय चितवनमा उक्त जग्गा नक्कली जीवनराज पाठकका नाममा दाखिला खारेज गरी सोही जग्गा फेरि नक्कली जीवनराज पाठकले मकवानपुरस्थित नेचुरल फ्लावर एन्ड हर्बल कम्पनीलाई ४९ लाख ५० हजारमा राजीनामा बिक्री गरी ठगी गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

हर्बल कम्पनीले जग्गा खरिद गरेपछि हिमालय बैंकमा धितो राखी ५ करोड कर्जा लिएको र पछि उक्त कर्जा प्राइम बैंकले काठमाडौंका थप ३ वटा घरसमेत धितो राखी ८ करोड ऋण लिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर