विर्तामोड।

जीवित ब्यक्तिलाई मृत्यु भएको भनी श्रद्धाञ्जलि सामग्री प्रकाशित गर्ने एक पत्रिकालाई प्रेस काउन्सिल नेपालले क्षमायाचना सहित सात दिन भित्र जवाफ पेश गर्न निर्देशन दिएको छ ।
मकवानपुरबाट प्रकाशित हुदै आएको साझकुरा दैनिकले जीवित कनमणी दिक्षितको स्वर्गारोहण भयो भनि तस्वीर समेत राखि श्रद्धाञ्जलि प्रकाशित गरेको थियो । प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले सोधेको स्पष्टिकरण पत्रमा भनिएको छ–‘जिवित ब्यक्तिलाई श्रद्धाञ्जलि दिने सो सामग्रीबाट पत्रकार आचारसहिंता, २०७३ को दफा ७ (१) र (२ं) को गम्भिर उल्लंघन देखिदा अबिलम्ब मुख्य पृष्ठमा क्षमायाचना प्रकाशित गर्नु र त्यस्तो गम्भिर त्रुटि किन हुन गएको हो सात दिन भित्र जवाफ पेश गर्नुहोला ।’
साझकुरा दैनिकमा भीम विराग संगीत साहित्यकला प्रतिष्ठान मकवानपुर परिवारले हार्दिक समवेदना भनि दिएको श्रद्धाञ्जलि सन्देशमा जीवित कनकमणीको स्वर्गारोहण भनि तस्वीर समेत राखि सामग्री प्रकाशित भएको काउन्सिलका सहप्रशासकीय अधिकृत तथा सुचना अधिकारी दिपक खनालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । निधन चाँही पुस १४ गते कमलमणी दिक्षितको भएको थियो ।
त्यस्तै राष्ट्रपतिको र्काालयलाई मुछ्ने गरी समाचार संप्रेषण गरेको भन्दै खबरडबली डटकम, न्यूज २४ नेपाल, नेपाल आज डटकम र काठमाण्डौं टुडे लाई तीन दिन भित्र स्पष्टिकरण पेश गर्न काउन्सिल अध्यक्ष कार्कीले बिहिबार निर्देशन दिएका छन् । राष्ट्रपति कार्यालय स्वकीय सचिवालयका कर्मचारी सुमित्रा थापाले पुस २० गते ‘अत्यन्त अनुत्तरदायि हर्कत गर्ने विरुद्ध कठोर कारबार्ही गरि पाउँ’ भनि उजुरी दिएकी थिइन् ।
आचारसंहिताको ख्याल नगरी जथाभावि समाचार सम्प्रेषण गर्ने विभिन्न संचारमाध्यम माथि कारबार्ही गर्ने क्रमलाई काउन्सिलले निरन्तरता दिदैं आएको छ ।

