बिर्तामोड।

प्राणघातकरुपमा चिनिएको क्यान्सरको उपचार अब झापाको बिर्तामोडस्थित बीएण्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा नै हुने भएको छ ।
यसअघि क्यान्सरको उपचार भरतपुर र काठमाडौंमा मात्रै हुँदै आएको थियो । क्यान्सर सम्बन्धी विभिन्न जानकारी र जनचेतना अभिवृद्धि गर्दै आगामी माघ २१ र २२ गते अस्पतालमा क्यान्सर रोगको अपरेशन तथा चेकजाँच र उपचार निःशुल्क र औषधिमासमेत विशेष छुटका साथ ओपीडी निःशुल्क गरिने मंगलबार अस्पताल परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो ।
क्यान्सर रोगीलाई अस्पतालले २० प्रतिशत छुटको व्यवस्था गरेको अस्पतालको जनसम्पर्क अधिकारी प्रमिस गिरीले जानकारी गराए । शिविर सञ्चालन गरेसँगै अस्पातालले क्यान्सरको उपचार गर्न शुरु गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । दुईदिने शिविरमा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. विनय ठाकुरसहितको टोली भरतपुरस्थित क्यान्सर अस्पतालबाट आउने वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विशेषज्ञ डा. र बीएण्डसी अस्पतालका वरिष्ठ सर्जनहरुको सहभागितामा रोगीको उपचार गरिने बताइएको छ ।
बीएण्डसीमा क्यान्सर रोगको उपचार भएसँगै पूर्व क्षेत्रका सयौं सेवाग्राहीले सुविधा लिनसक्ने समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । सेवाग्राहीले अस्पतालबाट अब पोष्टेटग्रन्थी, मृगौला, पेट, पित्तथैली, स्तन र आन्द्राको क्यान्सरको उपचार र शल्यक्रिया हुने अस्पतालका जनरल सर्जरी प्रमुख डा. रोहितप्रसाद यादवले जानकारी गराए ।
नेपालमा महिलाहरुमा दिनानुदिन बढ्दै गएको र भयावहरुप लिंदै गरेको पाठेघरको मुखमा हुने घातक क्यान्सर रोगको समस्यालाई मध्यनजर गर्दै महिलाहरुको विशेष अनुरोधलाई स्वीकारेर हस्टिलले अत्याधुनिक मेसिन कलकोसकोपी समेत सञ्चालनमा ल्याएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
कलकोसकोपीको सहायताले अधिकांश महिलामा देखिने पाठेघरको मुखको क्यान्सरको सफल परीक्षण अस्पतालमा भइरहेको र त्यसलाई थप सशक्त बनाउन क्यान्सरको उपचार शुरु गरिएको बताइएको छ ।
पत्रकार सम्मेलनमा अस्पतालका मेनेजिङ डाइरेक्टर निराजन प्रसाईको समेत आतिथ्य रहेको थियो ।

