बिर्तामोड । झापाको बिर्तामोडमा कार्यालय रहेको नेपाल उद्यमशील महिला संघले आज बुधवार बिर्तामोड स्थित एक पार्टी प्यालेसमा एक दिवसीय कर सम्बन्धी छलफल तथा अन्तरक्रिया सम्पन्न छ ।
आन्तरिक राजस्व कार्यालय भद्रपुरको सहजिकरणमा आयोजित कार्यक्रममा एक सय भन्दा धेरै उद्यमी, व्यवसायी महिलाहरूको सहभागिता रहेको थियो ।
करको बारेमा जानकार नहुँदा उद्यमी महिलाहरू व्यवसायमा आउन नचाहने, डराउने र आएकामा पनि कर सम्बन्धी पर्याप्त जानकारी नहुदाँ अनावश्यक सास्ती र जरिवानाको भागिदार बन्नु पर्ने समस्यालाई न्यूनिकरण गर्ने उद्देश्यले अन्तरक्रिया आयोजना गरिएको आयोजक संस्थाकी अध्यक्ष पार्वता खरेल विमलीले बताइन् ।
अध्यक्ष विमलीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख आतिथ्यता बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईँको रहेको थियो ।
कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य सङ्घकी महिला उपाध्यक्ष नैनकला भट्टराई, लघुउद्यम झापाकी अध्यक्ष निर्मला चौहान, सञ्चार उद्यमी विष्णु मैनाली, चेम्बर आफ कमर्स बिर्तामोडका अध्यक्ष ओमकृष्ण विमली लगायतले नेपाल उद्यमशील महिला संघले कर विषेश अन्तरक्रिया कार्यक्रम राखेकोमा प्रशंसा गरेका थिए ।
कार्यक्रममा कर कार्यालयको तर्फबाट कर कार्यालय प्रमुख शुभ प्रसाद रिजाल, कर अधिकृतहरू सुरेशकुमार महतो, पुनीता झापा र कर्मचारी यशकुमार श्रेष्ठले सहजीकरण गरेका थिए ।
संस्थाकी सदस्य चन्द्रा पोखरेल भट्टराईले स्वागत, अध्यक्ष विमलीले औचित्यमाथि प्रकाश र कार्यक्रमको सञ्चालक सचिव यशोदा प्रसाईं भट्टराईले गरेकी थिइन ।