सोलुखुम्बु ।

नवजात शिशुलाई जन्म दिएपछि बेहोस बनेकी जलेश्वरी–६ खोटाङकी सङ्गीता पुरीलाई जिल्ला स्वास्थ्य कार्यालय, सोलुखुम्बुको समन्वय तथा सोलु अस्पताल फाप्लुमा कार्यरत स्वास्थ्यकर्मीको आर्थिक सहयोगमा थप उपचारका लागि आइतबार काठमाडौँ लगिएको छ ।

पुस २९ गते साँझ ७ बजे आफ्नै निवासमा शिशुलाई जन्म दिएकी १९ वर्षया पुरी सोही दिन राति ९ बजेदेखि बेहोस बनेको पारिवारिक स्रोतको भनाइ छ ।

स्रोतका अनुसार लामो समयसम्म सुत्केरीको होस नफर्केपछि माघ १ गते दिउँसो करिब २ बजे सोलुु अस्पताल फाप्लुमा थप उपचारका लागि ल्याइएको थियो । अस्पतालमा भर्ना भएकी सुत्केरीको स्वास्थ्य अवस्थामा सुधार नआएपछि काठमाडौँ पठाउनुपरेको अस्पतालका डा राजेन्द्र बस्नेतले बताउनुभयो ।

डा बस्नेतका अनुसार गर्भावस्थामा उच्च रक्तचापका कारण मिर्गाैलाले काम गर्न छाडेपछि सुत्केरी बेहोस बनेकी हुन् । जनचेतनाको कमीका कारण सुत्केरी पुरीले एकपटक पनि गर्भजाँच नगराएको पाइएको पनि उपचारमा संलग्न डाक्टरले बताएका छन् ।
आर्थिक अवस्था कमजोर भएकै कारण जिल्ला जनस्वास्थ्य कार्यालय, सोलुखुम्बुको समन्वयमा स्वास्थ्यकर्मीको सहयोगस्वरुप दुईवटा हवाई टिकट, निःशुल्क उपचार सेवा र काठमाडौँ मेडिकल कलेज, काठमाडौँमा विशेष छुटमा उपचारको व्यवस्था गरिएको अस्पतालका डा राजेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
सिमपानी खोटाङ निवासी दिनेश गिरीसँग करिब एक वर्ष अगाडिमात्र वैवाहिक बन्धनमा बाँधिएकी पुरीको घरको आर्थिक अवस्था निकै कमजोर छ । श्रीमान्ले विवाहपश्चात् श्रीमतीलाई माइती घरमा छाडेर वैदेशिक रोजगारीमा गएको भए पनि हेरविचार नगरेको उहाँका माइती पक्षले आरोप लगाएका छन् ।

