Aamsanchar

हिउँ चितुवा संरक्षणका विश्वव्यापी प्रयासबारे छलफल

Author Image
मङ्गलवार, माघ ४, २०७३

काठमाडौँ ।snow

‘सङ्कटापन्न हिउँ चितुवा संरक्षणमा विश्वव्यापी प्रयास ः प्रगति र आगामी कदम’ बारेमा नेपालमा अन्तर्राष्ट्रियस्तरको छलफल सुरु भएको छ ।

विश्वमा हिउँ चितुवा पाइने १२ देशका वन–वातावरण मन्त्री र सम्बन्धित उच्चस्तरीय प्रतिनिधिको सहभागितासहितको कार्यशाला आजदेखि काठमाडाँैमा सुरु भएको हो ।

दुई दिने ‘हिउँ चितुवा र पारिस्थितिकीय प्रणाली संरक्षण कार्यक्रमको व्यवस्थापन योजना (जिएसएलइपी) तथा सर्वेक्षण कार्यशाला’मा हिउँ चितुवा संरक्षणमा विश्वव्यापी रुपमा भएका प्रयास र प्रगतिका बारेमा छलफल हुने आयोजक समितिले जनाएको छ ।

कार्यशाला शुभारम्भ गर्दै वन तथा भू–संरक्षण मन्त्री शङ्कर भण्डारीले नेपालमा हिउँ चितुवाको वर्तमान अवस्थाबारे जानकारी गराउँदै हिउँ चितुवा संरक्षणमा सरकारले प्राथमिकताका साथ काम अघि बढाएको बताउनुभयो ।

मानव र जनावरबीच हुने द्वन्द्व, प्राकृतिक विपत्ति, जलवायु परिवर्तन, वासस्थानको विनाश, चोरी सिकारीजस्ता कारणले हिउँ चितुवा संरक्षणमा चुनौती देखिएको भन्दै मन्त्री भण्डारीले चोरी सिकारी नियन्त्रणका लागि कडा कानुनीे व्यवस्था गरिएको छ भन्नुभयोे ।

विश्वमा हिउँ चितुवा नेपालका साथै अफगानिस्तान, भुटान, चीन, काजकिस्तान, किर्गिजिस्तान, भारत, मङ्गोलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानमा पनि पाइन्छ ।

कार्यक्रममा वन राज्यमन्त्री दीर्घराज भाटले हिउँ चितुवा उच्च हिमाली क्षेत्रको स्वास्थ्य पारिस्थितिकीय प्रणालीको महत्वपूर्ण हिस्सा भएको बताउँदै यस्तो महत्वपूर्ण बैठक नेपालमा आयोजना गर्ने अवसर पाउनु खुसीको कुरा भएको बताउनुभयो ।

राज्यमन्त्री भाटले बैठक हिउँ चितुवा र तिनीहरुको उच्च हिमाली पारिस्थितिकीय प्रणाली संरक्षण गर्न र पर्यापर्यटनमार्फत त्यहाँ बसोबास गर्ने मानिसको जीवनस्तर उकास्नबारे कार्यदिशा पहिल्याउन उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

हिउँ चितुवा नेपालमा करिब ३०० देखि ५०० र विश्वमा करिब तीन हजार ५०० देखि सात हजारको सङ्ख्यामा रहेको आयोजक समितिले जनाएको छ ।

कार्यक्रममा निमित्त वन सचिव पेमनारायण कँडेलले हिउँ चितुवा संरक्षणमा देखिएका प्रमुख चुनौतीको सामना गर्न मन्त्रालयले योजनाबद्ध रणनीतिक कार्यक्रम अघि बढाएको छ भन्नुभयो ।

मन्त्रालयले हिउँ चितुवा पाइने हिमाली क्षेत्रलाई तीन खण्डमा विभाजन गरी संरक्षणका कार्यक्रम अघि बढाएमध्ये पूर्वको कञ्चनजङ्घादेखि गणेश हिमालसम्म, मनास्लुदेखि धवलागिरि हिमालसम्म र कालीगण्डकी नदीदेखि अपिनपा संरक्षण क्षेत्रसम्मका भाग रहेको निमित्त सचिव कँडेलले जानकारी गराउनुभयो ।

सम्मेलन उच्चस्तरीय आयोजक समितिका अध्यक्ष एवम् निवर्तमान वन सचिव कृष्णचन्द्र पौडेलले जलवायु परिवर्तनका नकारात्मक असरले उच्च हिमाली क्षेत्रमा बढी असर पु¥याएको भन्दै हिउँ चितुवा संरक्षणले अन्ततः हिमाली पर्यावरणकै संरक्षणमा मद्दत पुग्ने धारणा व्यक्त गर्नुभयो ।

सो सम्मेलनकोे निष्कर्ष यही माघ ५ गते नेपालमै हुने हिउँ चितुवासम्बन्धी दोस्रो उच्चस्तरीय सञ्चालन समितिको बैठकमा पेस हुने बताइएको छ ।

कार्यक्रममा जिएसएलइपी सचिवालयका केशव वर्मा, संयुक्त राज्य अमेरिका अन्तर्राष्ट्रिय सहयोग नियोगका कार्ल वुस्र्टर, विश्व वन्यजन्तु कोषका डा घनश्याम गुरुङलगायतले हिउँ चितुवाको सरंक्षणमा देखिएका चुनौतीसँग जुध्न साझा प्रयास र सरकारी प्रतिबद्धता हुनुपर्नेमा जोड दिनुभयो ।

जिएसएलइपी हिउँ चितुवा पाइने १२ वटा देशका नागरिक समाज, अन्तर्राष्ट्रिय तथा निजी सङ्घसंस्थाको संयुक्त प्रयास हो । जसको प्रमुख उद्देश्य हिउँ चितुवाको प्राकृतिक वासस्थान जोगाइ राख्नु हो ।

सो उच्चस्तरीय बैठकले सन् २०१७ को मध्यतिर किर्गिजिस्तानका राष्ट्रपति अल्माज्बेक अताम्बाएभको नेतृत्वमा हुने हिउँ चितुवासम्बन्धी शिखर सम्मेलन र हरित लगानी मञ्चका लागि एजेन्डा तयार पार्नेछ

Views: 146

प्रतिक्रिया (०)