Aamsanchar

नागरिकता बनाइमाग्दा सम्पत्ति दिनुपर्ने भन्दै एक महिलाको हत्या

Author Image
सोमवार, असोज ३, २०७९

बारा- कलैया उपमहानगरपालिका–७ का शिवनारायण यादवका दुई श्रीमती बीच सधैजसो घर झगडा हुन्थ्यो । जेठी श्रीमती ५५ वर्षीय तेतरी देवीका सन्तान थिएनन् भने उनको नागरिकता पनि बनाइएको थिएन । यादवले कान्छी श्रीमती धनमन्ती देवी र उनका २ छोराको भने नागरिकता बनाइदिएका थिए ।सन्तान नभएका कारण तेतरीलाई लोग्ने, सौता  र उनका छोराहरूले हेला गर्थे । तेतरी लोग्नेसँग सधै नागरिकता बनाइदिन अनुरोध गर्थिन् तर बिहे गरेको ४० वर्ष बितिसक्दा पनि शिवनारायण यादवले जेठी श्रीमती तेतरीलाई नागरिकता बनाउन कहिल्यै चासो देखाएनन् ।

गत भदौ ३० गते बिहीबार साँझ तेतरी घाँस दाउरा गरेर घरबाहिर बाटो छेउमा बसिरहेकी थिइन् । घरमा नागरिकता कै विषयमा सामान्य वादविवाद भइरहेको थियो । कान्छी श्रीमती धनमन्ती देवी भने सम्पत्ति दिनुपर्ने भन्दै नागरिकता नबनाउन लोग्नेलाई दबाब दिइरहेकी थिइन् ।

यही विषयमा विवाद बढ्दै गएपछि कान्छी स्वास्नीको तर्फको जेठो छोरा जयप्रकाश यादवले धारिलो हतियार प्रयोग गरेर तेतरीको हत्या गरेका छन् । हत्या गरेर जयप्रकाश र उनकी आमा धनमन्ती देवी फरार भएको स्थानीयहरूले बताएका छन् ।

जयनारायण यादवले यसअघि पनि तेतरीलाई पटक–पटक यातना दिएको मृतकका माइती पक्षले बताएका छन् । मृतक तेतरीका दाजु लक्ष्मी राउतले जिल्ला प्रहरी कार्यालय बारामा  शिवनारायण यादव, जयकिशोर यादव र धनमन्ती देवी यादवको नाममा किटानी जाहेरी दिएका छन् । जाहेरीमा मृतक तेतरी देवीलाई लोग्ने, कान्छी स्वास्नी (सौता) छोराहरू मिलेर अंश नदिने उद्देश्यले नागरिकता समेत नबनाइदिएको, खान लाउन माग्दा घरमा विवाद हुने गरेकाले लोग्ने, कान्छी श्रीमती र छोराले नियोजित ढङ्गले हत्या गरिएको उल्लेख छ । पोस्टमार्टमपछि मृतकका तेतरीको दाहसंस्कार गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर