ताप्लेजुङ ।
हिउंदको समय सुरु भएसँगै ताप्लेजुङमा आगलागीका घटनामा वृद्धि भएको छ ।
गत सोमबार दिउँसोबाट पाथिभरा क्षेत्रको भित्री देउराली सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन । आगलागीका कारण लालिगुराँसले ढाकेको ठूलो वन क्षेत्र जलेर नष्ट भएको सामुदायिक वनका सचिव पासाङरिता शेर्पाले बताए ।

समुदायको प्रयासले मात्रै आगो निभाउन सम्भव नभएपछि बुधवार दिउँसोदेखि सदरमुकामबाट प्रहरी र सेनाको टोली पनि आगो निभाउन खटिएको छ ।

सोमबार दिउँसो तीन बजेबाट सुरु भएको आगलागीको कारण भने खुलेको छैन । यसैबीच, ताप्लेजुङको नाल्बुमा एक घरमा आगलागी हुँदा चार लाख बराबरको क्षति भएको छ ।

नाल्बु–९ का सुम्बा शेर्पाको दुई तले घरमा अचानक आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

Views: 238

