Aamsanchar

राजगढ २३ औं पूर्ण खोपयुक्त गाविस

Author Image
बुधवार, माघ १२, २०७३

विनोद पाण्डे(कमल)

२३ औं गाविसको रुपमा दक्षिणी झापाको राजगढलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको छ । स्थानीय स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने मूल नारासहित राजगढलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख मधुसुदन कोइरालाले राजगढलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरेका थिए । राजगढमा रहेका तीन सय ५८ जना बालबालिकाले सरकारले तोकेको मापदण्ड पूरा गरेको सबै खोप नियमित लगाएपछि गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको हो । खोपयुक्त गाविस घोषणा गर्नु अघि एक वर्षदेखि दुई वर्षसम्मका बालबालिकाको सर्वेक्षण गरेर सबै बालबालिकाले खोप लगाएको पाइएपछि गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको इलाका स्वास्थ्यचौकी राजगढका सिनियर अहेब राम साहले बताए । उनले राजगढमा ३५४१ घर धुरी रहेको र सो घरधुरीमा एक वर्षदेखि दुई वर्षसम्मका बालबालिका तीन सय ५८ जना रहेको र उनीहरु सबैले नियमित खोप लगाएपछि गाविसलाई पूर्ण खोपयुक्त घोषणा गरिएको हो भने ।

राजगढ पूर्ण खोपयुक्त गाविसको भएको प्रमाण पत्र बुझदै गाविस सचिव तेजप्रसाद रेग्मी

 

गाविस सचिव तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तेजप्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य चौकीको भवन निर्माणार्थ १० कठ्ठा जग्गा दान गर्ने दाता कपलेश्वर साहसहितका दाता र १० जना स्वयम्सेविकालाई समेत सम्मान गरिएको थियो ।
यसरी सम्मानित हुनेहरुमा खोप कार्यक्रममा उत्कृष्ट भूमिका निर्वाह गर्ने स्वास्थ्यकर्मी जगत श्रेष्ठ । त्यस्तै स्वयम्सेविकाहरु चन्द्रादेवी राजवंशी, तारा थापा, कला भुजेल, मिना राजवंशी, सावित्रा कटुवाल, डम्बरकुमारी राजवंशी, अन्ददेवी दास, खेलवती राजवंशी, मीना राउत र रेनुका प्रधान रहेका छन् ।
त्यस्तै स्वास्थ्यचौकीका कार्यालय सहयोग कूलप्रसाद सापकोटालाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा स्वास्थ्यचौकीका इञ्चार्ज खेम साहले स्वागत गरेका थिए भने जिल्ला जनस्वास्थ्य कार्यालय झापाका देवराज कार्की, खोप अधिकृत ईश्वरी पौडेल, लेखा अधिकृत घनेन्द्र ढकाल, स्वास्थ्य स्वयम्सेविका डम्बरकुमारी राजवंशी,श्रोत व्यक्ति टंकप्रसाद सेढाई लगायतले बोलेका थिए । कार्यक्रममा ओमनारायण राजवंशी, देवकुमार यादव, टंक साह, तोयानाथ पोखरेल, देवी ओझा लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको सञ्चालन स्वास्थ्यचौकीका अहेब नवराज श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा सहभागी सर्वसाधारण

दश प्रतिशत बालबालिका अझैं खोपको पहुँच बाहिर  

झापाका १० प्रतिशत बालबालिका अझै खोप सेवाबाट बाहिरै रहेको बताइएको छ ।
सरकारले सन् २०१७ सम्ममा नेपाललाई पूर्ण खोपयुक्त घोषणा गर्ने लक्ष्य राखे पनि झापामा उक्त लक्ष्य पूरा गर्न अझै धौ–धौ परेको बताइन्छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका खोप अधिकृत ईश्वरी पौडेलका अनुसार जिल्लाका २० हजार तीन सय १५ जना बालबालिकाले पूर्ण खोप लगाए पनि अझै १० प्रतिशत बालबालिका खोप सेवाबाट बाहिर रहेका छन् ।
उनीहरु बसाई सराई र नियमित खोप सेवा लिन नआएका कारण यो समस्या रहेको बताए । उनले भने– ‘सकेसम्म सबैलाई खोपको पहुँचमा ल्याउने जनस्वास्थ्यको प्रमुख लक्ष्य भए पनि चाहेर पनि उनीहरुलाई सेवा दिन सकिरहेका छैनन् । अधिकांशले अज्ञानताका कारण खोप लगाउँदैनन् भने अधिकांशले जानाजान आफ्ना बालबालिकालाई खोप लगाउन ल्याउँदैनन्’ पौडेलले भने ।
झापामा चार वटा नगरपालिका पूर्ण खोपयुक्ता घोषणा भइसकेका छन् भने केही नगरपालिका घोषणाको तयारीमा रहेका छन् । यता शरणामती र गरामनी गाविसलाई केही दिनभित्रै पूर्ण खोपयुक्त गाविस घोषणा गर्ने तयारी भइरहेको खोप अधिकृत पौडेलले बताए ।
पौडेलका अनुसार गौरादह, शिवसताक्षी, शनिअर्जुन र भद्रपुर नगरपालिका पूर्ण खोपयुक्त नगरपालिका हुन् भने झापाको पहिलो पूर्ण खोपयुक्त गाविस धाइजन हो । धाइजन २०७१ सालमा पूर्ण खोपयुक्त गाविस घोषणा भएको थियो

 

ग्रमीण स्वास्थ्य स्वयमसेवक महिलाहरु 

Views: 256

प्रतिक्रिया (०)

सम्बन्धित खबर