Aamsanchar

छुरा प्रहार गरी बालकको हत्या गरेको आरोपमा पाँच जना किशोर पक्राउ

Author Image
सोमवार, कार्तिक १४, २०७९

विराटनगर – मोरङको उर्लाबारीमा छुरा प्रहार गरेर बालकको हत्या गरेको घटनामा संलग्न भएको आरोपमा प्रहरीले पाँच जना किशोरलाई पक्राउ गरेको छ।

उर्लाबारी नगरपालिका-७ मावा खोलामा छठ हेर्न पुगेका बेला झापाको दमक नगरपालिका-१० का १४ वर्षीय दियुस श्रेष्ठको हत्या भएको थियो।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले हत्यामा संलग्न पाँच जनालाई पक्राउ गरिएको जानकारी दिए। उनका अनुसार पक्राउ परेका सबै १८ वर्ष मुनिका छन्।

उर्लाबारी-६ र ७ का ५ जना किशोर मिलेर आइतबार राति १०:२५ बजेतिर दियुसलाई छुरा प्रहार गरेको श्रेष्ठले बताए।

उनका अनुसार बायाँ कोखादेखि तलको भागमा छुरा प्रहार गरिएका दियुसको उपचारका क्रममा झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा सोमबार बिहान ४:५० बजेतिर मृत्यु भएको हो।

घटनापछि पाँचै जना नै फरार बनेका थिए। जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय उर्लाबारीको संयुक्त टोलीले हत्यामा प्रयोग गरिएको छुरासहित उनीहरूलाई उर्लाबारीबाटै पक्राउ गरेको हो।

हत्या गरिएका दियुस र हत्यामा संलग्नबीच विगतमा पनि झैझगडा हुने गरेको अनुसन्धानबाट खुलेको छ। पुरानो रिसिबीकै कारण दियुसको हत्या भएको प्रहरीले जनाएको छ। पक्राउ परेकाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ।

Views: 384

प्रतिक्रिया (०)

सम्बन्धित खबर