Aamsanchar

गुरु नानक जयन्तीमा के के गरिन्छ ?

Author Image
मङ्गलवार, कार्तिक २२, २०७९

आजको दिन गुरु नानक अर्थात् शिख धर्मावलम्बीका गुरुको जन्मदिन हो । आजको दिनलाई गुरु नानक प्रकासोत्सव र गुरु पर्व पनि भनिन्छ र संसारभरका शिख धर्मावलम्वीहरुले बडो श्रद्धाका साथ मनाउने गर्दछन् ।

संसारमा धेरै धर्म अनि धार्मिक मार्गहरू छन्, सम्पूर्ण धर्म अनि मार्ग लगायत धर्मका प्रवक्ताले सिकाउने ज्ञान र दिने दिव्योपदेश एउटै छ, माया, सद्भाव, सत्यता अनि अहिंसाको मार्ग ।

गुरु नानक जयन्तीमा के के गरिन्छ ?
कार्तिक पूर्णिमाकै दिन शिख धर्मका दश विशेष गुरुमध्येका प्रथम गुरु गुरु नानकको जन्म भएको हो । शिखहरूको दैनिक पूजाआजाको पवित्र स्थल गुरुद्वारामा धर्मावम्विहरुको प्रभात फेरिका साथ आजको दिनको प्रारम्भ गरिन्छ र यस्तो प्रभात फेरिमा विभिन्न प्रकारका मन्त्रोच्चारण गर्दै भजन गाउँदै गुरुको महिमा वर्णन गरिन्छ । बिहानको समय यसरी गरिने भजनलाई ‘असा दि भा’ भनिन्छ । यस्ता भेलाहरूलाई ‘अमृत भेला’ भनिन्छ र ‘अमृत भेला’ पछी ‘लगांरु’ अर्थात् नि:शुल्क सामुदायिक भोजन गर्ने गराउने चलन हुन्छ र यस्ता भोजहरू गुरुद्वाराका स्वंसेवकहरुले आयोजना गर्दछन् । यस्ता भोजहरू आयोजना गरेर कुनै पनि जात, वर्ण, लिंग वा समुदायका मान्छेहरू त्यसमा सहभागी हुन छुट हुन्छ । यो सामाजिक सहिष्णुताको एउटा अद्भुत उदाहरण त हो नै भक्ति र सेवाको मार्गमा समाजका सबै जना समान छन् भन्ने सन्देश पनि दिएको छ ।

दुई दिन अगाडिदेखिनै पवित्र ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को ४८ घण्टासम्म अध्ययन गरेर गुरु पर्वको दिन विधीविधान अनुरूप समापन गरिन्छ । यस्तो निरन्तर हुने धार्मिक अध्ययनलाई ‘अखण्डपथु’ भनिन्छ ।

नगर कीर्तन
यस क्रममा गुरु पर्वको एक दिनअघि नगर कीर्तन गर्ने चलन छ जसमा विभिन्न सांस्कृतिक झाँकीहरू निकालिने गरिन्छ । जसमा गुरु ग्रन्थ साहिबको झुलुवा (पालकी) बोकेर भजन कीर्तन गर्दै नगर परिक्रमा गरिन्छ । यस्तो झाँकीहरूमा सिख समुदायको परम्परागत हतियारहरू जस्तैस् भाला, तरवारहरु, पन्जाबी फलामे चक्कु आदिको प्रदर्शन र त्यससँग सम्बन्धित आत्मरक्षामा आधारित पारम्परिक खेल देखाइने गरिन्छ ।

‘रहरास साहिब पाठ’
रात्रिकालीन भजनकिर्तनलाई ‘रहरास साहिब पाठ’ भनिन्छ । भारतको पन्जाब, हरियाणा, चन्दिगढ लगायतका ठाउँमा अत्यन्तै उत्साह र उत्सर्गका साथ यो विशेष दिन मनाइन्छ भने संसारका हरेक कुना कन्दरामा रहेका शिख समुदायहरूले आजको दिनलाई हर्षका साथ मनाउने गरेका छन् ।

नेपालमा पनि धेरै ठाउँमा गुरुद्वारा रहेका छन्, ती सम्पूर्ण स्थानमा अनेक कार्यक्रमको आयोजना गरी गुरु नानकलाई सम्झिइने गरिन्छ । काठमाण्डौको कुपण्डोलमा पनि गुरुद्वारा रहेको छ, आजको दिन त्यहाँ भेला भएका शिख लगायत अन्य धर्म र सम्प्रदायका मान्छेहरूको पनि उत्साहजनक संलग्नता सहभागिता देख्न पाइन्छ ।

यस संसारलाई अझै धेरै गुरु नानकहरू जस्ता महान् गुरुहरू र महान् वचनको खाँचो छ, सत्मार्ग अवलम्वनगर्ने धैर्यता अनि भक्ति मार्गप्रतिको अटल आशा सदासर्वदा कायम होस् । सम्पूर्ण शिख समुदायमा यस विशेष दिनको शुभकामना । सबैको जय होस् ।

निम्बार्काचार्य जयन्ती
आज निम्बार्काचार्य जयन्ती पनि हो । हामीमध्ये धेरैले गुरु निम्बार्काचार्यको नाम नसुनेका पनि हुन सक्छौँ । आउनुहोस्, आज निम्बार्काचार्य गुरु बारे संक्षिप्तमा कुराकानी गरौँ ।

गुरु निम्बार्काचार्यका बारेमा
गुरु निम्बार्काचार्यको जन्म भारतीय क्षेत्रमा गोदावरी नदी तटमा वैदुर्यपत्तन नामको सहरमा भएको मानिन्छ । कतिपयले गुरु निम्बार्काचार्यको जन्म द्वापर युगमा नै भएको मान्छन् भने कतिपयले इसा कालको ११ औँ शताब्दीमा भएको मान्छन् ।

गुरु निम्बार्काचार्यका नाम रहनुको कारण चाहिँ निमको रुख र सूर्यको प्रसङ्ग रहेको छ । निम्बार्क अर्थात् निमको रुख र अर्क अर्थात् सूर्य भन्ने भएकाले पनि यहीबाट गुरु निम्बार्काचार्यको नाम रहेको तर्क गरिन्छ ।

गोदावरी किनारमा जन्मिए पनि गुरु निम्बार्काचार्यको साधना चाहिँ यमुना तटमा भएको मानिन्छ । एक दिन गुरु निम्बार्काचार्य आफ्नो आश्रममा बसिरहँदा दण्डी स्वामी त्यहाँ पुगेको विश्वास गरिन्छ । त्यति बेला साँझ छिप्पिइसकेको मानिन्छ ।

साँझ परिसकेपछि आफूले भोजन नगर्ने दण्डी स्वामीले बताएपछि गुरु निम्बार्काचार्यले साँझको पाहुनालाई भोकै पठाउन नचाहेको र आँगन छेउको निमको रुखमा सूर्य देवता उत्पन्न गराएको विश्वास गरिन्छ । सूर्य देखिएपछि दण्डी स्वामीले भोज गरेको विश्वास अहिले पनि चर्चा हुने गरेको छ । यही प्रसङ्गपछि गुरुको नाम निम्बार्काचार्य रहेको विश्वास गरिन्छ ।

गुरु निम्बार्काचार्यलाई सूर्यको अवतार पनि मानिन्छ । कतिपयले गुरु निम्बार्काचार्यलाई भगवान् विष्णुको सुदर्शन चक्रको अंश पनि मान्छन् । कार्तिक शुक्ल पूर्णिमाका दिन गुरु निम्बार्काचार्यको जन्म भएको मानिन्छ । त्यसैले पनि यसलाई विशेष चासो, महत्त्व र सम्मानका साथ मनाइन्छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 357

प्रतिक्रिया (०)