सरकारले नेपाललाई विश्वकै आध्यात्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित ‘देवभूमि नेपाल’ राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा गरेको छ।
नीति तथा कार्यक्रममा धार्मिक, सांस्कृतिक, आरोग्य, अध्ययन, चलचित्र, आध्यात्मिक तथा अवकाश पर्यटनको उदीयमान गन्तव्यका रूपमा नेपाललाई विकास गरिने उल्लेख गरिएको छ।
सरकारले नेपालको धार्मिक तथा सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख आधार बनाउने रणनीति अघि सारेको हो।
नीति तथा कार्यक्रमअनुसार आध्यात्मिक तीर्थ कूटनीतिमार्फत पशुपतिनाथ, लुम्बिनी, जानकी मन्दिर र मुक्तिनाथ क्षेत्रको विशेष प्रवर्द्धन गरिनेछ।

सरकारले तीर्थस्थलसँग जोडिएका पूर्वाधार, सेवा सुविधा तथा अन्तर्राष्ट्रिय प्रचारप्रसारलाई सुदृढ बनाउँदै विदेशी पर्यटक आकर्षित गर्ने लक्ष्य लिएको जनाएको छ।
विशेषगरी हिन्दु, बौद्ध तथा आध्यात्मिक पर्यटनमार्फत नेपाललाई विश्व समुदायमा शान्ति, अध्यात्म र सांस्कृतिक धरोहरको केन्द्रका रूपमा चिनाउने सरकारको योजना छ।
सरकारको यो कार्यक्रमलाई पर्यटन उद्योग विस्तार, रोजगारी सिर्जना तथा नेपालको सांस्कृतिक पहिचानलाई विश्वस्तरमा स्थापित गर्ने दीर्घकालीन रणनीतिका रूपमा हेरिएको छ।


