बिर्तामोड ।
नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा शनिवार आयोजित एक कार्यक्रमकाबीच अभिनन्दित भएका छन् ।
सभापति थापालाई झापा गौरादह–५मा आयोजित कार्यक्रममा गुम्बा निर्माणमा योगदान पु¥याएको भन्दै अभिनन्दन गरिएको हो । तामाङ जातिको पर्व सोनाम ल्होछार २८५३ बर्षको अवसरमा त्यहाँ निर्मित टाँसी छोयो तेलिङ गुम्बाको समुद्घाटन समारोहमा सभापति थापालाई अभिनन्दन गरिएको थियो । गुम्बाका अध्यक्ष चन्द्रबहादुर घिसिङको अध्यक्षतामा भएको कार्यक्रममा बौद्ध गुरु हिसी नोर्बु तामाङले सभापति थापालाई अभिनन्दन–पत्र प्रदान गरेका थिए ।
तामाङ जातिको महत्वपूर्ण पर्व सोनाम ल्होछार अनुसार आजदेखि बाँदर बर्ष पूरा भई चरा बर्ष लागेको छ । स्थानीय इन्द्रमाया गोले, धनसिंह गोले र मनमाया गोलेले करिब ५ लाख रुपैयाँ बराबरको १० धुर जग्गा निःशुल्क प्रदान गरेपछि सो गुम्बा निर्माण गरिएको बताइएको छ ।
उक्त गुम्बामा भगवान बुद्धका तीन वटा मूर्ति कर्णबहादुर थिङले प्रदान गरेका थिए । २५ लाख रुपैयाँको लागतमा तयार गरिएका मूर्तिको प्रतिष्ठापन तथा गुम्बाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कांग्रेस झापाका सभापति थापाले गरेका थिए ।
जग्गादाताहरुलाई र मूर्तिदाता थिङलाई सम्मान गरिएको कार्यक्रममा एमाले गौरादह नगर कमिटी अध्यक्ष मित्रदेव काफ्ले, नेपाली कांग्रेस क्षेत्रीय सभापति रोहित साह, नगर अध्यक्ष यादवराज सेढाई, आदिवासी जनजाति संघ झापा उपाध्यक्ष फूलवती राजवंशी र इमानसिंह तामाङ लगायतले बोलेका थिए ।