Aamsanchar

सुरुङ्गा लायन्सको निःशुल्क स्वास्थ्य शिविर

Author Image
सोमवार, माघ १७, २०७३

सुरुङ्गा

शहीद दिवसको अवसरमा लायन्स क्लब अफ कनकाई सुरुङ्गाद्वारा १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविरमा आँखा, पेट, हाडजोर्नी तथा नशा, छाला तथा यौनरोग, छाती, नाक, कान, घाँटी र बालरोग सम्बन्धी सेवा प्रदान गरिएको थियो । मेची आँखा अस्पताल बिर्तामोड र प्रधान मेडिसिन सेन्टर सुरुङ्गाको भौतिक तथा प्राविधिक सहयोग रहेको आँखा शिविरतर्फ ४ सय ४ सहित जम्मा १ हजार २४ जनाले स्वास्थ्य परीक्षणको सेवा लिएको क्लबका जनसम्पर्क अधिकारी तीर्थराज खरेलले जानकारी दिए । बिरामीलाई निःशुल्क रुपमा औषधि तथा चश्मा प्रदान गरिएको थियो ।

शिविरमा २ सय जनाको रगत परीक्षण, ४० जनाको भिडियो एक्स–रे, ४० जनाको फिजियोथेरापी, २ सय जनालाई चश्मा वितरण र डेढ लाख रुपैयाँ बढीको औषधि वितरण गरिएको क्लबका डाइरेक्टर प्रभाखर कडरियाले जानकारी दिए । आँखा शिविरतर्फ जनता चश्मा घर विर्तामोड र शितल चश्मा घर विर्तामोडको सहयोग रहेको थियो । शिविरमा डा. प्रमोद झा, डा. कुमुद लिम्बू, डा. सुबेश सौरभ, डा. सीबी झा, डा. अनिल यादव, डा. जितेन्द्र यादव, डा. सुमित कर्ण, डा. उमेश भगत, डा. दुर्योधन यादव, डा. आशिक झा, सर्जन डा. शम्भु नबल लगायत २७ जना चिकित्सक तथा प्राविधिकले सेवा प्रदान गरेको लायन्स क्लब अफ कनकाई सुरुङ्गाका थर्ड भाइस प्रेसिडेन्ट सुरेन्द्र प्रधानले जानकारी दिए ।
गणतन्त्र चौक सुरुङ्गा दुर्गा मन्दिर अगाडि उक्त शिविरको आयोजना गरिएको थियो । शिविरमा लायन्स क्लब डिस्ट्रिक्ट ३२५ ए १ का रिजनल चेयरपर्सन लायन विजय कार्की, ३२५ ए १ कै जोन चेयरपर्सन एमजेएफ बालचन्द्र सुब्बा, जोन २१ का चेयरपर्सन एमजेएफ अजय अग्रवाल लगायतको आतिथ्य रहेको थियो । विश्वबन्धुत्व र भाइचाराको नाताले दुःखमा परेका मानवको सेवा गर्नु सर्वोत्तम धर्म भएको र सानै भए पनि आफूले सकेको सहयोग गर्नुमा नै मानव हुनुको सार्थकता रहेको लायन्सको सिद्धान्त रहेको बताइएको छ ।
सन् १९१७ मा अमेरिकामा स्थापित लायन्स क्लब इन्टरनेशनल विश्वको सर्वाधिक ठूलो र सम्मानित सेवामूलक संस्था रहेको, उदाहरणीय सेवाका लागि उज्ज्वल छबि बनाएको, विश्वभरि नै फैलिएको र विशुद्ध मानवीय सेवा गर्ने संसारकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय संस्थाको रुपमा रहेको मानिन्छ ।

लायन्स क्लबले आफ्नो प्रतिभा र क्षमतालाई प्रयोग गरी राष्ट्रलाई सुरक्षित र स्वतन्त्र राख्न अग्रसर हुन सहयोग गर्ने भएकाले युवा तथा प्रौढ यसमा संलग्न भई मानव सेवामा समर्पित हुँदै आएका छन् । ‘हामी सेवा गर्छौ’ भन्ने मूल नारा लिएर विश्वका १ सय १० भन्दा बढी मुलुकका ४६ हजार लायन्स क्लब अन्तरगत करिब १४ लाख नागरिकहरुमा फैलिएको लायन्स सञ्जाल वृहत रुपमा नेपालीहरु माझ पनि विस्तारित भएको छ । फेलोसिप (मित्रता बढाउने), नेतृत्व विकास गर्ने (लिडरसिप) र आफ्ना अनुभवलाई अवसरको रुपमा प्रयोग गरी सामाजिक सेवा गर्ने (सोसल सर्भिस) लायन्सका मूल मन्त्र रहेको मानिन्छ ।
स्वास्थ्य शिविर लायन्स क्लब अफ कनकाई सुरुङ्गाका चार्टर प्रेसिडेन्ट लीलाप्रसाद चिमरियाको सभापतित्वमा सम्पन्न भएको थियो । जोइन्ट सेक्रेटरी मनोज बस्नेतले कार्यक्रम सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 188

प्रतिक्रिया (०)

सम्बन्धित खबर