काठमाडौँ ।
संसद्को चालू अधिवेशन लम्बिएको छ । चालू अधिवेशनमा संविधान संशोधन विधेयक र निर्वाचन कानुन विचाराधीन छन् ।
विचाराधीन रहेको राजनीतिक दलको एकीकरण र संशोधन गर्न बनेको विधेयक पारित नभएसम्म अधिवेशनको टुङ्गो लाग्नेछैन ।
विचाराधीन संशोधन र निर्वाचन विधेयकबाहेक अन्य महìवपूर्ण ‘विजनेश’ भने संसद्मा छैन । सरकारले दुई विधेयक पारितसँगै सदनलाई नयाँ ‘विजनेश’ दिनुपर्नेछ ।
वैशाख २१ गते सुरु भएको बजेट अधिवेशन योपटक अहिलेसम्म निरन्तर चल्दैआएको हो । अधिवेशन निरन्तर रहेपछि हिउँदे अधिवेशन आह्वान नै भएन । चालू अधिवेशन सुरु भएको दस महिना लागेको छ ।
संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले निर्वाचन कानुन निर्माणको प्रक्रिया लम्बिएसँगै अधिवेशन पनि लम्बिएको बताउनुभयो । गौतमले निर्वाचन कानुनको विधेयक नसकिएका कारण अधिवेशन लम्बिएको हो । संसद्ले मात्र भन्दा पनि सरकारले अधिवेशन अन्त्यको पहल गर्ने हो । विधेयक सकिएपछि केही निर्णय होला भन्नुभयो । यसअघि कात्तिक ४ गते संसद्को चालू अधिवेशन अन्त्य गर्ने तयारी थियो ।
कात्तिक ३ गते साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएपछि अधिवेशन अन्त्य भएन । महाभियोग प्रस्तावको कार्यविधि अनुसार संसद् अधिवेशन अन्त्य भएको अवस्थामा समेत बोलाउनुपर्ने भएका कारण चालू अधिवेशनलाई निरन्तरता दिइएको हो ।
कात्तिकपछि सरकारले निर्वाचन कानुन संसद्मा दर्ता गरेकाले अधिवेशन निरन्तर रहेको हो । चालू अधिवेशनले निर्वाचनका लागि आवश्यक नौमध्ये चार विधेयक पारित गरेको छ । एक विधेयक संसदीय समितिमा विचाराधीन छ भने अन्य चार विधेयक सरकारले अहिलेसम्म सदनमा पेस गरेको छैन ।
संसदीय इतिहासमै सबैभन्दा लामो अधिवेशन दसौँ अविधेशन थियो । दसौँ अधिवेशन २०६८ वैशाख १९ गतेबाट २०६८ फागुन ९ गतेसम्म चलेको थियो । त्यसपछिको सबैभन्दा लामो अधिवेशन चालू अधिवेशन भएको छ । सरकारले नीति तथा कार्यक्रम पेस गर्नुभन्दा चार दिनअघि अधिवेशन बोलाएको थियो । संसद्को सबैभन्दा छोटा अधिवेशन तत्कालीन प्रतिनिधिसभाको १५औँ अधिवेशन हो । उक्त अधिवेशन चार दिन चलेको थियो ।
चालू अधिवेशन भने विचाराधीन निर्वाचन सम्बद्ध विधेयक पारितपछि अन्त्य गरी संविधान संशोधन विधेयकमा राजनीतिक सहमतिपछि अर्को अधिवेशन बोलाउने सरकारको तयारी छ । राजनीतिक दलसम्बन्धी विधेयक संसद्बाट पारित भएपछि चालू अधिवेशन अन्त्यको तयारी सरकारले गरेको छ ।