लहान :
सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनका अन्य दुई कार्यकर्तामाथि पनि प्रहरीले मुद्दा चलाएको छ। राउतको रिहाइको मागसहित लहानमा प्रदर्शन गर्ने क्रममा पक्राउ परेका ६ जनालाई जिल्ला अदालततर्फ लैजाने क्रममा पक्राउ परेका ११ मध्ये दुई जनाविरुद्ध प्रहरीले राज्यविरुद्धको संगठित अपराधअन्तर्गत नै मुद्दा चलाएको हो।
सीके राउतमाथि पनि सोही मुद्दा दर्ता भएको थियो। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक शेखर कोइरालाका अनुसार पछिल्लो पटक यसरी मुद्दा चलाइएकामा सिरहाको मिर्चैया नगरपालिका ३ का रुपेश साह र सिरहा नगरपालिका ७ का विपिन यादव रहेका छन्।
सीके राउतको पक्षमा प्रदर्शन गर्ने क्रममा लहानबाट माघ २१ गते पक्राउ परेका ६ जनालाई जिल्ला अदालततर्फ लैजाने क्रममा त्यसको विरोधमा जिल्ला अदालत अगाडि र हेमनारायण चोकमा प्रदर्शन गर्नेमध्ये ११ जनालाई प्रहरीले पक्राउ गरेको थियो।
त्यसमध्ये ९ जनालाई सामान्य सोधपुछपछि छाडिएको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा ती दुईजना गठबन्धनका सक्रिय कार्यकर्ता रहेको खुलेपछि मुद्दा चलाइएको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए। सिरहामा प्रहरीले अहिलेसम्म राउतसहित ९ जनामाथि राज्यविरुद्धको संगठित अपराध अन्तर्गत मुद्दा चलाएको छ।