Aamsanchar

बौद्ध धर्मको विकास बुद्ध शासन मन्त्रालयबाट

Author Image
शुक्रवार, माघ २८, २०७३

काठमाडौँ।

नेपालका लागि श्रीलङ्काका राजदूत डब्लु स्वर्णलता परेराले ले बुद्ध धर्मलाई श्रीलङ्कामा इपू २३६ मा सम्राट् अशोकका छोरा महेन्द्रले प्रवेश गराए पनि विभिन्न समयमा आएको उतारचढाबले बुद्ध दर्शनको विकासमा अवरोध पुगेको बताउनुभएको छ ।

धर्मकीर्ति विहारले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उहाँले सन् १९४८ देखि श्रीलङ्का बौद्ध राष्ट्र कायम भएको र बौद्ध शिक्षा तथा दर्शनको निरन्तर विकास भएको बताउँदै अहिले ७४ प्रतिशत जनसङ्ख्याले बौद्ध धर्ममा आस्था राख्ने गरेको जानकारी दिनुभयो । श्रीलङ्कामा हाल करिब छ हजार बौद्ध विहार र सम्पदा तथा १५ हजार भिक्षु रहेको बताइएको छ ।

राजदूत परेराले बौद्ध धर्ममा विशेषगरी थेरवाद, महायान र वज्रयान तीन सम्प्रदाय प्रचलनमा रहे पनि त्यहाँ थेरवादको मात्र अभ्यास हुने गरेको प्रस्ट पार्दै बुद्ध धर्मको विकासका लागि बुद्ध शासन मन्त्रालयसमेत रहेको त्यसले विहार र भिक्षुलाई आवश्यक सहयोग गरेको बताउनुभयो ।

विहार प्रमुख अनगारिका धम्मावतीले बुद्ध जन्मेको देश नेपालमा बौद्ध धर्म, दर्शन र शिक्षाको विकासमा सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । विहारका सदस्य मदनरत्न मानन्धरले नेपाल र श्रीलङ्काबीचको पुरानो सम्बन्ध र मित्रता रहेको र यसलाई जनस्तरसम्म कायम राख्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

Views: 200

प्रतिक्रिया (०)