Aamsanchar

तुवाचुङ–जायाजुङमा किराती पुर्खाको प्रतिमा राखिने

Author Image
मङ्गलवार, फागुन ३, २०७३

खोटाङ ।

किरातीको पुर्खा रैछाकुले, तायामा र खियामाको प्रतिमा यहाँ राखिने भएको छ ।  किराती सभ्यता र संस्कृतिको उद्गम थलो मानिने हलेसी महादेवस्थान–१ स्थित तुवाचुङ–जायाजुङ डाँडामा किराती तीन पुर्खाको पूर्णकदको प्रतिमा राखिने भएको हो ।

किरात राई यायोख्खा केन्द्रीय समितिको पहलमा ढलोटबाट निर्माण गरिने प्रतिमा आगामी वैशाख ७ गतेभित्र राखिने प्रतिमा स्थापना समितिका सचिव जनक राईले जानकारी दिनुभयो ।

समितिले रैछाकुले, तायामा र खियामाको काल्पनिक रेखाचित्र तयार पारेर सार्वजनिक गरेको दुई महिनापछि प्रतिमा राख्ने स्थान निश्चित गरेको हो ।

प्रतिमा स्थापना समितिले गत भदौ ४ गते तायामा, खियामा र रैछाकुलेको रेखाचित्र निर्माण गरी सार्वजनिक गरेको थियो । प्रतिमा स्थापनाका लागि देश तथा विदेशमा रहेका किरातीबाट रु २६ लाख बढी रकमसमेत सङ्कलन भइसकेको छ ।

तुवाचुङ–जायाजुङ डाँडा मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्डमा पर्छ । हिन्दू, बौद्ध र किरातको सङ्गमस्थल हलेसी आउने अधिकांश पर्यटक ऐतिहासिक तथा पर्यटकीयस्थल तुवाचुङ–जायाजुङ डाँडा पुग्ने गरेका छन् ।

तुवाचुङ–जायाजुङ डाँडामा आदिमकालमा किराती पुर्खाले तान बुन्ने र सुकाउने गरेको बताइन्छ । उक्त ठाउँमा अझै पनि ती पुर्खाले गरेको क्रियाकलापको अवशेष देख्न सकिन्छ ।  समुद्री सतहदेखि करिब दुई हजार मि उचाइमा रहेको तुवाचुङ–जायाजुङ डाँडामा हरेक वर्ष वैशाख पूर्णिमाको दिन पूजाआजा गरेर साकेला नाच्ने गरिन्छ ।

वैशाखे पूर्णिमाको दिन जिल्लाका सबै क्षेत्र तथा छिमेकी जिल्ला उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुर, धनकुटा, सङ्खुवासभालगायतमा किराती तथा गैरकिराती आउने गर्छन् ।

मध्यपहाडी लोकमार्गको काभ्रे भन्ज्याङबाट तुवाचुङ–जायाजुङ डाँडासम्म पुग्नका लागि सडकसमेत निर्माण गरिएको छ । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने तुवाचुङ–जायाजुङ डाँडामा बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 119

प्रतिक्रिया (०)