काठमाडौं – एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपालले आज प्यालेस्टाइनसँग खेल्दैछ । नेपाल र घरेलु टोली प्यालेस्टाइनबीचको खेल फैजल हल हुसेइनी इन्टरनेशनल स्टेडियममा स्थानीय समयअनुसार दिउँसो ३ बजे सुरु हुनेछ ।
केही समयअघि साफ यू-२० च्याम्पियनसिपमा उपविजेता बनेको नेपाल एसियन छनोटको पहिलो चरण पार गर्दै दोस्रो चरणमा पुग्ने लक्ष्यमा छ ।राष्ट्रिय टिमकै सदस्य प्रिती राईको कप्तानीम नेपाल मैदान उत्रनेछ । कप्तान राईले दोस्रो चरणमा पुग्नका लागि राम्रो प्रदर्शन गर्ने बताइन् ।यस्तै प्रशिक्षक याम बहादुर गुरुङले नेपालले राम्रो प्रदर्शन गर्दै दोस्रो चरणमा छनोट हुने विश्वास व्यक्त गरे । पहिलो खेल घरेलु टोलीसँग भएपनि त्यसका लागि आफूहरु तयार रहेको गुरुङले बताए ।नेपाली टोलीले पछिल्लो साढे दुई महिनादेखि तयारी गरिरहेको छ । यस बीचमा यू-२० साफ च्याम्पियनसिप पनि खेलेको थियो ।प्यालेस्टाइनकी प्रशिक्षक गिना खानोफले छनोट प्रतियोगिताका लागि आफ्नो टिम तयार रहेको र अर्को चरणमा पुग्ने लक्ष्य रहेको सुनाइन् ।