काठमाडौं – शीर्ष तीन ब्याटरको अर्धशतकप्रेरित पपुवा न्युगिनी(पीएनजी)ले शुक्रबार आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखलामा युनाइटेड अरब इमिरेट्स (यूएई) सामु २४७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेपछि ब्याटिङमा आएको पीएनजीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २४६ रनको योगफल खडा गर्यो । पीएनजीका सेसे बाउले १०६ बलमा १० चौकासहित ८१ रन बनाए । बाउले दोस्रो विकेटका लागि हिरी हिरीसँग ११२ रनको साझेदारी गरेका थिए । हिरी हिरीले ८५ बलमा पाँच चौका र चार छक्कासहित ७७ रन बनाए ।
हिरीले पहिलो विकेटका लागि अर्का ओपनर किप्लिन डोरिगाले ७२ रनको साझेदारी गर्दै पीएनजीलाई बलियो सुरुआत दिलाएका थिए । डोरिगाले ४४ बलमा आठ चौका र दुई छक्कासहित ५५ रन बनाए । तर, मध्यक्रम ब्याटरबाट आशाअनुरुपको प्रदर्शन हुन नसकेपछि पीएनजी ठूलो योगफलसम्म पुग्न भने सकेन ।